भद्रपुर ,चैत ३ । सांस्कृतिक कार्यक्रमका साथ विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै मारवाडी संघले बृहत होली मिलन समारोह सम्पन्न गरेको छ ।

भद्रपुरस्थित संघको कार्यालयमा मारवाडी महिला मञ्च , मारवाडी संघ भद्रपुर र मारवाडी युवा मञ्च भद्रपुरको संयुक्त आयोजनामा मारवाडी भाषाका गीतनृत्य प्रस्तुत गरिनुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रदेश नं १ का भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न विधाका ६ जना उत्कृष्ट मारवाडी विद्यार्थी , ५ जना जेष्ठ र मरणोपरान्त २ जनासहित १३ जनालाई सम्मान गरिएको हो ।
मरणोपरान्त सम्मान संघका पूर्व अध्यक्षहरु स्वर्गीय पर्शुराम अग्रवाल र ओमप्रकाश साहेवालालाई प्रदान गरिएको थियो ।
यसैगरी जेष्ठ सम्मानबाट राजकरण कोठारी ,किसन मित्रुका, लक्ष्मीदेवी अग्रवाल, नैनादेवी साहेवाला र लक्ष्मीदेवी टायललाई सम्मान गरिएको थियो । त्यसैगरी २०७७ सालको स्नातक तहदेखि एसईई परीक्षा तथा चित्रकलामा उत्कष्ृट ६ जना मारवाडी विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष अजयकुमार साहेवालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भाष्कर शर्मा र निलम गोयलले संयुक्त रुपमा गरेका थिए । समारोहमा मारवाडी भाषाका गीत , नृत्य, नाटक र कविताद्वारा मनोरंजन प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय सभापति गणेश पोखरेल, उद्योग संघ झापाका अध्यक्ष नवराज पनेरु, समाजसेवी दिनबन्धु गोयललगायतको सहभागिता रहेको थियो ।