झापा , चैत ५ । पाँचथरमा ‘यहाँहरूका समस्या बुझ्दै हिँडेका प्रहरी, तपाईंका केही समस्या छन् ? के सुझाव दिनु छ ?’

प्रहरीले यस्तो सोध्नासाथ कुम्मायक-४ का खड्ग सम्बाहाम्फेको घरभित्रैबाट जवाफ दिए, ‘अरू त त्यस्तै हो, पानीको धेरै दुःख छ , ल्याइदिनुपर्‍यो ।’ स्थानीय सुखरानी र पदम सम्बाहाम्फेको पनि जवाफ यस्तै थियो । शान्ति सुरक्षाको अवस्था बुझ्न गाउँ निस्केको प्रहरीले गाउँलेको यस्तो जवाफ अपेक्षा गरेका थिएनन् । अधिकांश स्थानीयले गस्तीमा खटिएका प्रहरी टोलीलाई खानेपानी र औषधिमूलोको समस्या बताए । ‘शान्ति सुरक्षा र अपराधसँग सम्बन्धित विषय मात्रै नोट गर्छौं ,’ प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर राजवंशीले भने । पाँचथर प्रहरीले गाउँबस्तीका हालखबर बुझ्न गत २१ पुसदेखि यस्तो अभियान सुरु गरेको थियो । जसलाई प्रहरीले लङ रुट पेट्रोलिङ (एलआरपी) भनेको छ । एलआरपीमा निस्कँदा कम्तीमा ९ जनाको टोली आफ्ना लागि आवश्यक सबैखाले सामग्री बोकेर हिँड्छन् । पहिलो पटक निस्केको टोलीले थाक्ले, शिवा दोभान, रानीगाउँ, यासोक, निगाले, सेपेनी र चुङसाङली हुँदै तमोर करिडोरको आसपासका २ सयभन्दा बढी स्थानीयसँग भलाकुसारी गर्‍यो । दोस्रो र तेस्रो पटक फाल्गुनन्द गाउँपालिकाअन्तर्गत नवमीडाँडा र इम्बुङका विभिन्न गाउँबस्ती पुगेको थियो । पाँचथरका प्रहरी प्रमुख डीएसपी राकेश थापाका अनुसार ग्रामीण गस्तीका क्रममा किरियापुत्री, खर्कमा गाईबस्तु चराइरहेका नागरिक, खनजोत गरिरहेका किसानदेखि पाटीपौवामा बास लिएकालाई समेत भेटेर हाल खबर सोधेको हो । गाउँघरमा अप्रिय घटना पो भयो कि भनेर शंका गर्नेहरू पनि उत्तिकै भेटिएका थिए । ‘घर पायकमा स्थायी रूपमै प्रहरी बसिदेओस् भन्नेको संख्या उल्लेख्य छ,’ डीएसपी थापा भन्छन् । सुक्खायाममा खानेपानीको समस्या भोग्नुपरेको, बाटो खन्ने क्रममा जग्गा बिगारिदिएको र बिरामी हुँदा उपचार गर्न टाढासम्म पुग्नुपरेको जस्ता समस्या सुनाउने पनि धेरै हुन्छन् । टोलीमा सामेल प्रहरी जवान चन्द्र चौहानका अनुसार धेरैले गाउँमा नियमित गस्ती गर्न सुझाव दिएका छन् । नागरिकका समस्या बुझ्न लङ रुट पेट्रोलिङलाई निरन्तरता दिने डीएसपी थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्