सन्जु बास्की,
बिर्तामोड , चैत ५ । होली पर्वको भोलिपल्ट शनिवार बिर्तामोडको डोमालाल राजवंशी रंगशाला भरिभराउ थियो खेल हेर्न नभएर सन्थाल जातिको बाहा कार्यक्रम हेर्न ।

लोपोन्मूख अबस्थाका आदिबासी सन्थालहरुको त्यस कार्यक्रमको रौनकता विगतभन्दा थपिएको थियो । सन्थाल युवायुवतीहरु नाचिरहेका थिए , झुमिरहेका थिए । उनीहरुसँगै अरु समुदायले पनि भरपूर आनन्द लिइरहेका थिए । स्टेजमा नाच्नेहरुलाई सम्हाल्न आयोजकलाई गाह्रो परिरहेको थियो ।

सन्थाल समुदायको बाहा पर्वको अवसरमा नेपाल सन्थाल मार्साल युवा क्लव बिर्तामोड ३ ले सो नृत्य प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाभरिका सन्थालहरु सहभागी भएका थिए । आफ्नै भेषभूषा र गरगहनामा सजिएका युवायुवतीहरुले मनै लोभ्याउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रकृतिपुजक सन्थालहरुले मौसम अनुसार चाडपर्व मनाउने गरेका छन् । सन्थाल समुदायको सबैभन्दा ठूलो पर्व सोहोराई हो । दोस्रो ठूलो पर्वको रुपमा उनीहरुले बाहा मनाउने गरेका छन् । बाहाको अर्थ फूल हो । बसन्त ऋतु शुरु भएर फूल फुल्ने बेलामा उनीहरुले यो पर्व मनाउने गरेका छन् । सखुवाको फूल लगेर घरघरमा दिने , चेलीबेटीहरुलाई घरमा पाहुना बोलाउने , मीठो खाने , रमाइलो गर्ने परम्परा त्यस जातिमा रहेको पाइन्छ ।‘फूल फुल्ने बेलामा यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ’ नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरमले भने ,‘लोप हुँदै गएको संस्कार संस्कृतिलाई जोगाउन खोज्दैछौं, विस्तारै सन्थालहरुमा जागरण आउँदैछ ।’ उनले राज्यले सन्थाल जातिलाई उपेक्षा गरेका कारण आफ्नो अस्तित्व जोगाउन आफै लागिपरेको बताए ।

नेपाल सन्थाल मार्साल युवा क्लवका अध्यक्ष श्याम मुर्मूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष भोजराज सिटौला प्रमुख अतिथि रहेका थिए । उनले आगामी वर्ष बाहा कार्यक्रमका विजेता हुने प्रथमलाई ५१ हजार ,द्वितीयलाई ४० हजार , तृतीयलाई ३० हजार , चौथोलाई २० हजार , पाँचौंलाई १५ हजार नगद पुरस्कारको व्यवस्था आफूले मिलाइदिने घोषणा गरे । कार्यक्रममा नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरम, नेपाल सन्थाल उत्थान संघका अध्यक्ष सुन्दरलाल बेस्रा, नेपाल सन्थाल पैरवी संघका अध्यक्ष विरेन्द्र किस्कू, रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी ,नेपाली कांग्रेस बिर्तामोड ३ का वडा सभापति प्रेम उप्रेती, स्थानीय समाजसेवी रामेश्वर मण्डल, कलाकार किरण खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा १२ वटा नृत्य टोलीले भाग लिएका थिए । जसमध्ये कनकाईका मंगल हेमरमको समूह प्रथम , कनकाईकै एफएम द्वितीय,बुट्टावारीको बीपीएस तृतीय, रमेश मुर्मूको समूह चौथो र डाँगीवारीको समूह पाँचौं भएको छ । प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार , ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाएका छन् । कार्यक्रमको संचालन मन्दिरा किस्कू , कविराज हास्दा र सन्तोष दासले गरेका थिए भने स्वागत मन्तव्य रमेश मुर्मूले गरेका थिए । सन्थाल मार्साल युवा क्लवले विगत पाँच वर्षदेखि बाहा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा ४ हजारभन्दा बढीको सहभागिता रहेको थियो । २०६८ सालको जनगणना अनुसार झापामा सन्थालहरुको जनसंख्या ५१ हजार ७३५ रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्