बिर्तामोड, चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले पार्टी परित्याग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ दुःखद पनि हुन सक्छ । तर खुशी पनि हुन सक्छ । सबैमा सबैलाई आजबाट म राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा राप्रपाको साधारण सदस्यसम्म नरहने सबैमा जानकारी गराउँदछु ।’

झापामा राप्रपाका प्रभावशाली नेता मानिएका खरेलको पार्टी परित्यागको घोषणाले राप्रपामा तरंग मच्चिएको छ । खरेल १० वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । दुई कार्यकाल राप्रपा झापाको उपाध्यक्ष पदमा रहेर काम गरेका खरेल जिल्ला अध्यक्षका दावेदार थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका विगतमा विश्वासपात्र मानिने खरेलको पार्टी परित्यागको घोषणाले ठुलो क्षति भएको राप्रपा वृत्तमा चर्चा हुन थालेको छ ।

पार्टीनिकट चेतनाथ थापाले राप्रपामा अब निरन्तर झापा जिल्ला र प्रदेश नम्बर १ भरि सामुन्द्रिक छालझैं राजीनामाको लहर आउने टिप्पणी गरेका छन् । खरेल राप्रपा छोडेर राप्रपा नेपाल खोलेका कमल थापानिकट मानिन्छन् । उनी राप्रपा छोडेर राप्रपा नेपालमा जाने र जिल्ला अध्यक्ष बन्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्