झापा , चैैैैैैैैैैैैैैैैैैैैैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नेवित्तिकै वरिष्ठ उपाध्यक्ष कमल खरेलले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको झापा जिल्ला समिति गठन गरेका छन् ।

उनले हिजो सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने जानकारी दिएका थिए । आज बिर्तामोडमा भएको भेलाले खरेलको अध्यक्षतामा राप्रपा नेपालको झापा जिल्ला समिति गठन गरेको हो । जसको उपाध्यक्षहरुमा नारायण राजवंशी , देवेन्द्र कन्दङ्वा , सचिव देवीप्रसाद दंगाल र कोषाध्यक्ष कल्पना खत्री रहेका छन् ।

त्यस्तै सदस्यहरुमा देवीरमण भट्टराई , चेतनाथ थापा , रोशनकुमार सिंह राजवंशी , पुकार दंगाललगायत १७ जनाको जिल्ला समिति रहेको छ । गठित जिल्ला समितिलाई आजै जिल्ला निर्वाचन कार्यालयमा दर्ता गराइएको अध्यक्ष खरेलले बताए । उनले जिल्ला निर्वाचन कार्यालयमा १७ सदस्यीय समिति दर्ता गराएपनि ५१ सदस्यीय समिति रहेको जानकारी दिए । त्यस्तै राप्रपा नेपालको केन्द्रीय सदस्यमा रोहित राजवंशी , सहायक महामन्त्रीमा देवीरमण भट्टराई चयन भएको जनाइएको छ ।

राप्रपामा रहेका जिम्मेवार नेताकार्यकर्ताहरु राप्रपा नेपालमा गएका हुन् । राप्रपा नेपालका अध्यक्ष भएका खरेल राप्रपाको वरिष्ठ जिल्ला अध्यक्ष थिए । त्यस्तै उपाध्यक्ष राजवंशी २ नं क्षेत्रीय अध्यक्ष थिए । त्यस्तै कन्दङ्वा ३ नं पूर्व क्षेत्रीय अध्यक्ष , दंगाल निवर्तमान प्रदेश कमिटी सदस्य , खत्री पूर्व जिल्ला सदस्य , भट्टराई पूर्व केन्द्रीय सदस्य, रोहित राजवंशी पूर्व केन्द्रीय सदस्य रहेका थिए । झापामा राप्रपाका प्रभावशाली नेता मानिएका खरेलसहितका नेताहरुको पार्टी परित्यागले राप्रपामा तरंग मच्चिएको छ ।यसैबीच राप्रपा नेपालमा गएकाहरुले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी आजै मितिदेखि राप्रपाको साधारण सदस्यसमेत नरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्