बिर्तामोड , चैत ८ । डाकाहरुले कम्युनिष्ट बनेर उद्रकान्त राजवंशीको हत्या गरेको उनको परिवारले बताएका छन् ।

शहीद उद्रकान्त राजवंशीको जीवनीका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनका परिवारका सदस्यहरुले राजनीतिक उद्धेश्यले नभई डकैती गर्न आएका कम्युनिष्ट भनाउँदाहरुले उद्रकान्तको हत्या गरेको आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै उद्रकान्तका नाति धनलाल राजवंशीले पहिला नारायण श्रेष्ठ र कृष्ण कुइकेल आफ्नो घरमा आएपछि अरुलाई बोलाएर आगो तापिरहेका आफ्ना हजुरबुवालाई डकैती शैलीमा आततायीहरुले बर्बरतापूर्वक हत्या गरेको बताए । ‘ पहिला नारायण श्रेष्ठ र कृष्ण कुइकेल आए ’ उनले भने ,‘ पछि एक हुल बोलाएर हजुरबुवाको हत्या गरे । ’ त्यस दिनको घटना सुनाउँदै उनले भने ,‘आफू भान्सा घरमा नलुकेको भए उनीहरुले आफ्नो पनि हत्या गर्थे ।’ उद्रकान्तका नातिनी ज्वाइँ चण्डौल राजवंशीले पनि डकैती शैलीमा आएर उनीहरुले निर्दयी भएर हत्या गरेको घटना सुनाए । उनी पनि सो घटनामा घाइते भएका थिए ।
बिर्तामोड नगरपालिका ९ साविक गरामनी ६ मा बुबा बुधकोस राजवंशीका साइला सुपुत्रका रुपमा १९५५ सालमा जन्मेका उद्रकान्तको २०२९ साल मंसीर २३ गते साँझ ७ बजे हत्या भएको थियो । भारतको नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदारबाट प्रभावित भएर व्यक्ति हत्यामा उत्रिएका तत्कालीन माले (हाल नेकपा एमाले )का कार्यकर्ताले राजवंशीको हत्या गरेका हुन् । कम्युनिष्टहरुले त्यसबेला मुख्य प्रजातान्त्रिक विचारधारा बोकेका कांग्रेसीको छानीछानी टाउको काट्ने आतंक फैलाएका थिए । त्यही बेला झापाका बुटन चौधरी , ईश्वरीप्रसाद चुडाल , धर्मप्रसाद ढकाल , विष्णुप्रसाद विमलीलगायतको हत्या भएको थियो ।
२०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग एवं नेपाली कांग्रेसको पार्टी संगठनमा आदिवासी राजवंशी समुदायबाट प्रतिनिधित्व गरेका कारण उक्त समुदायमा डर त्रास फैलाउने उद्देश्यका साथ उद्रकान्तको हत्या भएको हो । व्यक्ति हत्या गर्ने तत्कालीन नक्सलवादी आन्दोलनको नेतृत्व आरःके.मैनाली, सिपी मैनाली र के.पी.ओलीले गरेका थिए ।
नेपाली कांग्रेस झापाका अग्रज नेताहरु हरिविलास पट्वारी, फतेबहादुर बुढाथोकी , दलबहादुर बुढाथोकी ,तुर्सा हेमरम , हरिशंकर मुन्सीलगायतका नेताहरुसँगै उद्रकान्त राजवंशी पार्टीको काममा अहोरात्र खटिएका थिए ।
रविसिंह राजवंशीका नाति एवं बुधकोष राजवंशीका छोरा उद्रकान्तको जन्म गरामनीमै भएको थियो । उनका बुबा बुधकोष राजवंशी भारत गलगलियाको भादगाउँ भन्ने स्थानबाट बसाई आई झापाको गरामनीमा बसोबास थालेका थिए । त्यसबेला गरामनीलाई गड्डामनी पनि भनिन्थ्यो । राजवंशी भाषमा गड्डामनी भनेको गहिरोपोखरी हो । गरामनी बजार नजिकै गहिरो पोखरी रहेका कारण उक्त गाउँको नाम गडामनीबाट अपभ्रंस हँुदै गरामनी भएको हो । हाल उक्त पोखरी मासिसकेको छ ।
बुधकोषका पाँच भाइ छोराहरु लालबरसिंह, चैतुसिंह, उद्रकान्त , हलिसिंह, पानियासिंह राजवंशी मध्ये उद्रकान्त साइला छोरा हुन् । राजनीतिक चेतना हिसावले अब्बल उनी नेपाली कांग्रेसले लिएको प्रजातान्त्रिक समाजवादी विचारधाराका अनुयायी थिए र पार्टी गतिविधिमा सक्रिय थिए ।
उद्रकान्तको हत्या हुँदै गर्दा आगो तापेर बसिरहेका उनका नातिनी ज्वाइँ चण्डोल र पनातिनी सन्तवाला समेत घाईते भएका थिए ।
हुक्का तानेर आफ्नै घरमा बसिरहेका उद्रकान्तमाथि एक्कासी घरभित्र पसेका हतियारधारी समूहले ९० ठाउँमा काटेर क्रुर र अमानवीय हत्या गरेको थियो । अत्यन्तै हृदय विदारक एवं हेर्नै नसकिने गरी गरिएको उद्रकान्तको हत्या देखेलगतै स्थानीय मंगलसिंह राजवंशीकी श्रीमती राजवंशीको तारामनी तत्कालै निधन भएको स्थानीय बताउँछन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं २ र उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कांग्रसका प्रदेश सभापति उद्धव थापा , केन्द्रीय सदस्य सुशिला ढकाल , पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी , उजला उपसभापति केशवराज पाण्डे , महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ, छत्र गिरी ,नगर सभापति भोजराज सिटौलालगायतले बोलेका थिए । क्षेत्रीय सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्षेत्रीय सचिव राम धिमालले गरेका थिए ।



