भद्रपुर ,चैत ९ । चन्द्रगढीस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयका पूर्व प्रधानाध्यापक स्व. डिल्लीप्रसाद भट्टराई स्मृति अक्षयकोषबाट झोला वितरण गरिएको छ ।

विरेन्द्र मावि चन्द्रगढीमा शिशुदेखि कक्षा ५ सम्म अध्ययनरत छात्रछात्रालाई भट्टराई स्मृति अक्षयकोषकी संरक्षक स्व.भट्टराईकी पत्नी दुर्गादेवी भट्टराईले झोला वितरण गरेकी हुन् ।
५ लाख ५हजार ५ सय ५५ रुपैयाँबाट स्थापित अक्षयकोषको रकमबाट प्राप्त हुने व्याज ६५ हजारले कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको र बाँकी रकमबाट झोला वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खिलाराज कोईरालाले बताए ।कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका शिक्षक ईन्द्रबहादुर पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक खडानन्द भट्टराई ,कर्मचारी भोलाप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।