भद्रपुर, चैत १० । झापामा आर्थिक वर्ष ०७७÷०७८ मा क्षयरोगका झण्डै एक हजार बिरामीको पहिचान भएको छ ।

विश्व क्षयरोग दिवसका सन्दर्भमा स्वास्थ्य कार्यालय झापाले बिहीवार कार्यालय परिसरमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सो आंकडा प्रस्तुत गरिएको हो ।
कार्यालयका क्षयरोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले अघिल्लो वर्ष जिल्लामा ९९२ क्षयरोगी पहिचान भएको जानकारी दिए । जिल्लामा मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै १८८ र झापा गाउँपालिकामा सबैभन्दा कम २२ जना नयाँ रोगी भेटिएको उनले बताए । यद्यपि, कार्यालयले २१ सय थपिने अनुमान गरेकोमा ११ सयजति छुटिरहेको उनको भनाइ थियो ।
विश्वमा सबैभन्दा बढी क्षयरोगी भएको भारतसँगको खुला सीमाका कारण झापामा क्षयरोग निवारण चुनौतीपूर्ण रहेको उनको भनाइ छ । प्रदेश नं १ मै सबैभन्दा बढी क्षयरोगी झापामा रहेको बताइन्छ ।
श्वास प्रश्वासको माध्यमबाट सर्ने क्षयरोग बैलैमा पहिचान भई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्दा निको हुने भए पनि बिरामीले रोग लुकाउने गर्दा क्षयरोगीको यकिन तथ्यांक संकलन र उपचारमा समस्या हुने गरेको कार्यालयको भनाइ छ ।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं’ भन्ने नाराका साथ बिहीवार विश्वभरि यो क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार क्षयरोगबाट बँच्न आफूलाई शंका लाग्नासाथ खकार जँचाएर क्षयरोग लागेको भए नियमित औषधि सेवन गरे निको हुन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता कार्यालयका परिवार नियोजन अधिकृत शशिकुमार भट्टराईले गरेका थिए ।