झापा , चैत १३ । मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास मा.वि.मा पढ्ने १४ वर्षीया छात्रामाथि शिक्षकले यौनजन्य दुरव्यवहार गरेको विषयपछि भड्किएको हिंसा, एक प्रहरीको मृत्यु र कर्फीयुपछि असहज बनेको विद्यालय खोल्ने तयारी थालिएको छ ।

विद्यालय व्यवस्थापन समितिको पहलमा सर्वपक्षीय छलफल गरी विद्यालय पुनः सञ्चालन गर्ने विषयमा पहल थालिएको हो । व्यवस्थापन समितिका अध्यक्ष भूमसूर्य मगरले राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका पदाधिकारी, आमा समूह, शिक्षक, अभिभावक र विद्यार्थी सम्मिलित भेला गरी विद्यालय खोल्ने विषयमा छलफल भएको बताए ।“घटनापछि अहिले पनि त्रासको वातावरण भएकोले अब त्यसलाई विस्तारै सामान्यीकरण गर्दै कक्षा सञ्चालन गर्ने र नजिकिएका परीक्षाहरू सञ्चालन गर्ने भन्ने तयारी गरेका छौँ,” मगरले भने । मगरका अनुसार नजिकएको एसईई र अरू कक्षाका वार्षिक परीक्षाहरू पनि सञ्चालन गर्न अब विलम्ब गर्न नहुने अभिभावकको समेत राय छ । छलफलमा सहभागीबाट घटनामा संलग्नलाई कानुनी उपचार गर्ने र पीडकलाई न्याय दिलाउने कानुनी प्रक्रिया समेत अघि बढेको अवस्थामा अब धेरै समय विद्यालय बन्द गर्न नहुने सुझाव आएको मगरले सुनाए । झडपपछि तोडफोड भएको विद्यालय परिसरमा सरसफाइ गरिएको छ । प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले छलफलबाट प्राप्त सुझावका आधारमा नै अब कक्षाहरू सञ्चालन गरिने बताए । घटनामा घाइते भएका मिश्रले आफू अहिले पनि स्वास्थ्य उपचारकै क्रममा रहेको बताए । उनले भने, “हामी पनि अब सबै पक्षले सहज वातावरण सिर्जना गरी विद्यालय खोल्नुपर्छ भन्ने पक्षमा छौँ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्