झापा ,चैत १४ । ताप्लेजुङमा पाथीभरा दर्शनका क्रममा सुनसरीको इटहरी नगरपालिका-९ का खिनबहादुर ढुंगानाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका थिए । प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव , शव गृहमा राखिएको अधिकारीले बताए । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने चिकित्सको अनुमान छ । ढुंगाना परिवारसहित पाथीभरा दर्शनमा आएका थिए । आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका थिए ।