दमक, चैत १४ । दमकमा यहि चैत २३ देखि २९ गतेसम्म आयोजना हुने ‘आठौं फूडफेस्टिवल’को तयारी तीव्र पारिएको छ ।

होटल व्यवसायी संघ दमकले बर्षेनि गर्दै आएको फूडफेस्टिवललाई यस बर्ष पनि निरन्तरता दिँदै सात दिन लामो फूडफेस्टिवल गर्न आवश्यक तयारी तीव्र पारिएको फूडफेस्टिवल संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

स्थानीय आदिवासी,जनजातिका विशेष परम्परागत तथा मौलिक खानेकुराहरुको व्यावसायिक प्रवद्र्धन गर्नमा जोड दिने उद्देश्यले फूडफेस्टिवल आयोजना गर्न लागिएको उनले बताए ।
फूडफेस्टिवलमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारीलगायतका जातजातिका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको तीन दर्जनबढी व्यावसायिक स्टलहरु राखिने छन् ।
दमक ७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने सो फूडफेस्टिवलमा दैनिक स्थानीय जातजातिको मौलिकता झल्काउने परम्परागत नृत्यसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिए । फूडफेस्टिवलका माध्यमबाट दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रचारप्रसार संयोजक दिपक फुयँलले जनाएका छन् ।

प्रचार संयोजक फुयँलका अनुसार फूडफेस्टिवलमा १ लाख बढीले अवलोकन गर्ने र करिव रु २५ लाख बढीको आर्थिक करोबार गर्ने लक्ष्य राखिएको छ । फूडफेस्टिवल सम्पन्न गर्न दमक नगरपालिका संरक्षकका रुपमा रहने र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्