देविका अधिकारी,
हल्दिवारी । टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी एक दिवसीय अन्तरक्रिया हल्दिवारी गाउँपालिकामा सम्पन्न भएको छ ।

स्वास्थ्य शाखा हल्दिवारीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप सुरु हुन लागेको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।

१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका करिब ८ हजार ५०० बालबालिकाहरूलाई यो खोप लगाइने छ । अन्य उमेर समूहमा भन्दा यो समूहका व्यक्तिहरूलाई रोगको संक्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूह यो रहेको निरौलाले जानकारी दिए ।विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा यो सेवा उपलब्ध हुने पनि उनले बताए ।

जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक तथा संचारकर्मीको उपस्थितिमा भएको अन्तक्रियामा हल्दिवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालको अध्यक्षता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्यकर्मी याम न्यौपानेले राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले आनीबानी, खानेपानी तथा दिसापिसाबको माध्यमबाट फैलिने यो रोग नियन्त्रणमा सबैले सचेत हुनुपर्ने धारणा राखे । चैत २५ गतेबाट सुरु हुने खोप अभियानमा कोही पनि नछुटुन् भनेर आ–आफ्नो ठाउँबाट सबैले प्रचारप्रसारमा सहयोग गर्न स्वास्थ्य शाखा हल्दिवारीले आह्वान गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्