झापा, चैत २२ । प्लाष्टिकको झोला मुक्त गरिएको इलाममा फेब्रिकका झोला उत्पादनका लागि उद्योग स्थापना गरिएको छ ।

रोङ गाउपालिका-३ कुटिडाँडास्थित माता पाथीभरा साना पर्यटन व्यवसायी समूहले गाउँपालिकासँगको सहकार्यमा सो उद्योग स्थापना गरेको हो । इलाममा कालो पोलिथिनको झोला बोक्न नपाइने भएपछि विकल्पमा फेब्रिक झोलाको प्रयोग बढ्न थालेकाले यसका लागि उद्योग स्थापना गरिएको बताइएको छ । रु. ४ लाख ४७ हजारको लागतमा उद्योग स्थापना गरिएकामा उक्त समूहले रु दुई लाख ४६ हजार र गाउँपालिको रु दुई लाख एक हजार व्यहोरेको समूहका कोषाध्यक्ष किरण राउतले बताए । यस्ता झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग गर्ने उनको भनाइ थियो ।
उक्त समूहले यसअघि गाउँमै साना उद्योग स्थापना गरी अगरबत्ती उत्पादन गर्दै आएको छ । उत्पादित अगरबत्ती कुटिडाँडा, कोल्बुङ, हर्कटे तथा आसपासको क्षेत्रमा बिक्री हुँदै आएको अध्यक्ष राम खवासले बताए । पाथीभरा मन्दिर आसपासमा ब्यापार गर्ने ब्यपारी सङ्गठित भइ स्थापना गरिएको सो समूहले समूदायमा सचेतनामूलक कामसमेत गर्दै आएको स्थानीय पत्रकार गणेश अर्यालले बताए । यसैगरी समूहले पाथीभरा मन्दिर सफा गर्नाका साथै विपतमा परेकाहरूलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौलाको भनाइ थियो । उत्पादित झोला ब्यावसायिक रूपमा बजारमा ल्याइने र यसबाट ब्यापारी तथा ब्यवसायीलाई समेत सहज हुने अनुमान गरिएको छ । सामान खरिद तथा बिक्रीका लागि यो झोलाको माग बढ्न थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्