झापा , चैत । उदयपुरको बेलका नगरपालिका-३ बुद्धचौकीकी एक बालिकाको हत्या भएको छ ।

बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवारको जशोधा खोलामा हत्या भएको हो। उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन । जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै एकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए। कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइइको परीक्षा नजिकिंदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैं बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन्। घटना स्थल विद्यालयदेखि करिव ७ सय मिटर र घरबाट करिव दुई किलोमिटर पर रहेको स्थानीय सुमन सागर खतिवडाले जानकारी दिए। मृतक बालिकाको टाउकोमा चोटपटक लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने उनले बताए । घटना स्थललाई प्रहरी सुरक्षा घेरामा राखेको छ । कुकुरसहितको विशेषज्ञ टोली झिकाइएकाले प्रमाण नष्ट हुन नदिन सुरक्षा घेरामा राखिएको एसपी बोहोराले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्