झापा , चैत २५ । प्रदेश १ मा बाँकी रहेका दुई जिल्लामध्येको ताप्लेजुङलाई बुधबार प्रदेशका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप प्रकाश हाङगामले साक्षर जिल्ला घोषणा गरेका छन् ।


प्रदेशका १४ मध्ये अब सोलुखुम्बु मात्रै साक्षर घोषणा हुन बाँकी छ । केन्द्रीय तथ्यांक विभागको सुरुवाती तथ्यांकअनुसार १ लाख २० हजार ३ सय ५९ जनसंख्यामध्ये ९६.४६ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश्वर भट्टराईले बताए । उनका अनुसार ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भए घोषणा गर्न मिल्ने प्रावधान छ । जिल्लामा सबैभन्दा पहिला साविकका ओलाङचुङगोला, लेलेप, इखाबु, तापेथोक र याम्फुदिन गाविसलाई साक्षर बनाइएको थियो । तत्कालीन जिल्ला विकास समितिले ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रलाई साक्षर बनाउने जिम्मेवारी दिएको थियो । संघीय संरचनाअनुसार पालिका भएपछि स्थानीय तहले सबैलाई साक्षर बनाएर घोषणा गर्ने रणनीति बनाएका थिए । त्यहीअनुसार जिल्लाका सबै स्थानीय तहले साक्षर पालिका घोषणा गरेपछि जिल्लालाई पनि घोषणा गरिएको हो । झाँकीसहित ठूलो संख्यामा विद्यार्थीको उपस्थितिमा घोषणा कार्यक्रम गरिएको छ ।साक्षर बनाउन हरेक विद्यार्थीले अभिभावकलाई साक्षर बनाउनुपर्नेसम्मको रणनीति अख्तियार गरिएको थियो । पहिला प्रौढ कक्षा, साक्षरता कक्षा चलाएर साक्षर बनाउन प्रयास गरिएको र त्यसैका आधारमा पछिल्लो समय अनिवार्य दस्तखत गर्नुपर्ने प्रावधानले निरक्षरले पनि साक्षर बन्न प्रयास गरेको शिक्षा विकासका भट्टराई बताए । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका छन् । सबैभन्दा बढी फुङलिङ नगरपालिकामा निरक्षर थिए । लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थी परिचालन गरेर निरक्षरको विवरण पनि निकालेको थियो । उनीहरूले साक्षर बनाउनमा पनि योगदान दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्