बिर्तामोड , चैत २५ । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट मेयर, उपमेयर , अध्यक्ष र उपाध्यक्ष बन्ने आकांक्षा राखेका उम्मेद्वारका लागि मतदान भएको छ ।

शुक्रबार बिर्तामोड, भद्रपुर ,मेचीनगर , कनकाई नगरपालिका ,कमल र झापा गाउँपालिकामा मतदान भएको हो ।

मतदानका क्रममा खसेको मतको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा गणना शुरु भएको छ । मतदानका क्रममा बढी मतभार ल्याउने आकांक्षीले पार्टीले तोकेको मापदण्ड पुरा गरेको देखिए टिकटका लागि प्राथमिकता पाउने छन् । आकांक्षा राख्नेक्रममा बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट ५ जना दावेदार देखिएका छन् ।

पूर्वकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा स्थानीय तह निर्वाचनको लागि ५ जना आकांक्षीले पार्टीको नगर कमिटीमा उम्मेदवारी दर्ता गराएका थिए । आकांक्षा राख्न दिइएको समयभित्र ५ जनाले मेयरको इच्छा राखेका हुन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका छन् ।। दिउँसो २.३० बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । ४२६ जना मतदाता रहेको नगर कमिटीको विस्तारित बैठकमा ३८० मत खसेको छ । त्यस्तै भद्रपुर नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट ६ जना दावेदार देखिएका छन् ।

पूर्वकै पुरानो नगरपालिका भद्रपुरमा स्थानीय तह निर्वाचनको लागि ६ जना आकांक्षीले पार्टीको नगर कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरका लागि बहालवाला मेयर जीवन श्रेष्ठ , उपमेयर चन्द्रा श्रेष्ठ , असारु राजवंशी , राम दवाडी , कालीचरण बस्नेत र टीका प्याकुरेलले उम्मेदवारी दिएका हुन् । नगरका वडाहरुबाट उम्मेदवारको टुंगो लागिसकेर सिफारिस गरिसकिएको छ ।

त्यस्तै नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका आकांक्षी उम्मेद्वारहरु छान्न चुनाव गराएको छ ।
शुक्रबार काँकरभिट्टास्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका आकांक्षी उम्मेद्वारहरुको आन्तरिक निर्वाचन गराएको हो ।एमाले मेचीनगर कमिटी, नगर इन्चार्ज, वडा इन्चार्ज, १५ वटै वडा कमिटिका सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए ।
मेचीनगरका कुल ६५० मतदाता मध्ये ५७६ जना सदस्यहरुले मतदान गरेको निर्वाचन समितिका संयोजक पदम डाँगीले जानकारी दिए ।

२ वटा व्यालेट बक्समा राखिएका मतपत्र एमाले जिल्ला पार्टी कार्यालय पठाइएको छ । मेचीनगरमा मेयरमा ७ र उपमेयर पदमा ७ जना उम्मेद्वारको रुपमा आकांक्षी देखिएका छन् ।
मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटी सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका हुन् ।

त्यस्तै, उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, एमाले जिल्ला सदस्यहरु मोहनकाजी न्यौपाने,सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी देखिएका छन् ।

उपमेयरकी आकांक्षी उम्मेद्वार रेणुका डाँगी उप्रेतीले उम्मेद्वारी फिर्ता लिएको एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताए । पार्टी कार्यालयमा सात पालिकाको मतपेटिका आइपुगेको जिल्ला सचिव शिव ढुंगेलले बताए । उनले भद्रपुर नगरपालिकाको मतगणना भइरहेको जानकारी दिँदै मतपरिणाम सार्वजनिक नगरिने बताए ।चैत २७ गते सबै आकांक्षीलाई राखेर मत परिणाम सार्वजनिक गरी आकांक्षीहरुमध्येबाट बढी मतभार ल्याउने, लोकप्रिय र निर्वाचनमा जित्न सक्नेलाई टिकटका लागि सिफारिस गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्