बिर्तामोड , चैत २६ । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट मेयर, उपमेयर , अध्यक्ष र उपाध्यक्ष बन्ने आकांक्षीहरुको मतगणना सम्पन्न भएको छ ।

बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएकी छन् । त्यस्तै दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए ।

त्यस्तै उपमेयरमा देवराज कार्कीले सबैभन्दा बढी मतभार ल्याएका छन् । त्यसपछि दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेल रहेका छन् । उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका थिए ।

त्यस्तै भद्रपुर नगरपालिकाको मेयरका आकांक्षीका लागि भएको मतदानमा असारु राजवंशी पहिलो नम्बरमा छन् भने जीवनकुमार श्रेष्ठ दोस्रो र चन्द्रा श्रेष्ठ तेस्रो भएका छन् । त्यस्तै मेचीनगरमा मेयरको दौडमा प्रदेश सांसद गोपाल बुढाथोकी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेल पहिलो भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्