झापा, चैत २६ । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखा र पशुपंछी मत्स्य विकास शाखाले सहारा नेपाल साकोससंगको लागत साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई र सहारा नेपाल साकोस चारपानेका सहसचिव ज्ञानुनाथ मैनालीले संयुक्तरुपमा उक्त सामग्री वितरण गरे ।

मकै छोडाउने मेशिन विभिन्न वडाका २५ वटा कृषक समूह र च्यापकटर ६० जना कृषकहरुलाई वितरण गरिएको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । आर्थिक वर्ष २०७८÷०७९को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सामग्री वितरण गरिएको जनाइएको छ । मेशिन वितरण कार्यक्रममा बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक,सहारा नेपाल साकोसका शंकर रिजाल,नगरको कृषि विकास शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले यसअघिका वर्षहरुदेखि नै कृषकहरुलाई पावर टेलर,मकै छोडाउने मेशिन,धान काट्ने मेशिन,चिया टिप्ने मेशिन,मिनी टेलर,ग्रिनेट स्प्रे टयाङ्कीलगायतका विभिन्न उपकरण तथा सामग्रीहरु वितरण गर्दै आएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अबस्थामा त्यसको उल्लंघन गर्दै नगरपालिकाले उपकरण वितरण गरेको एक राजनीतिक कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्