बिर्तामोड , चैत २६ । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट मेयर, उपमेयर , अध्यक्ष र उपाध्यक्ष बन्ने आकांक्षीहरुको आन्तरिक मतपरिणाम सार्वजनिक भएको छ ।

बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएकी छन् । त्यस्तै दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए ।

त्यस्तै उपमेयरमा देवराज कार्कीले सबैभन्दा बढी मतभार ल्याएका छन् । त्यसपछि दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेल रहेका छन् । उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका थिए ।

त्यस्तै भद्रपुर नगरपालिकाको मेयरका आकांक्षीहरु बीच भएको आन्तरिक चुनावमा असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेका थिए । राजवंशीपछि चन्द्रा श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो , जीवन श्रेष्ठ चौथो , राम दवाडी पाँचौं र टीका प्याकुरेलले छैटौ मतभार प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा कौशिला अधिकारीले सबैभन्दा धेरै मतभार प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मतभार पाएका छन् ।

त्यस्तै मेचीनगरको मेयरका लागि भएको आन्तरिक मतदानमा प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी, निलकण्ठ तिवारी र मिना पोखरेल उप्रेतीको नाम क्रमशः अग्रस्थानमा रहेको एमाले झापाका सहइन्चार्ज रविन कोइरालाले बताए । उनले पार्टीको विधान अनुसार मेयरमा २ पुरुष र १ जना महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने बताए ।
मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटी सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका थिए ।

त्यस्तै मेचीनगरको उपमेयरमा रमा भण्डारी ढकाल, कल्पना सिटौला ओली र ऋषिराज तिम्सिनाको नाम अग्रस्थानमा रहेको छ । उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, एमाले जिल्ला सदस्यहरु मोहनकाजी न्यौपाने, एमाले जिल्ला सदस्यहरु सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी थिए ।

त्यस्तै नेकपा एमाले अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारको रुपमा सिफारिस गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।
अर्जुनधाराका वडाध्यक्ष समेत रहेका गोम्देनसहित मेयर पदमा उपमेयर कमला आचार्य , कमल गुरागाई र देवीमाया भट्टराईले आकांक्षा व्यक्त गरेका थिए ।

त्यस्तै नेकपा एमाले शिवसताक्षी नगरका आकांक्षीहरुको आन्तरिक चुनावमा मेघहाङ्ग थोेप्रा (रोशन) पहिलो नम्बरमा परेका छन् ।
त्यस्तै राधाकृष्ण खनाल दोस्रोमा पर्न सफल भएका छन् । उपमेयरमा भोजकुमारी नेपाल पहिलो भएकी छन् भने भरत इन्दिरा बस्नेत दोस्रो बन्न सफल भएको बताइएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेद्वार सर्वसम्मत नभएपछि नगर कमिटीले निर्वाचन प्रकृयाबाट उम्मेद्वार छनौट गर्न मतदान गरेको थियो ।
मेयर पदका लागि चन्द्रकुमार शेर्मा, धनबहादुर थेवे, धनप्रसाद लिम्बू, मेघहाङ थोप्रा (रोशन), राजिव घिमिरे, राधाकृष्ण खनाल, रामचन्द्र दाहाल, लिलाप्रसाद भट्टराई र होमप्रसाद गौतमले उम्मेद्वारी दिएका थिए ।

त्यस्तै उपमेयर पदका लागि कल्पना चम्लागाई (कोपिला), भरत इन्दिरा बस्नेत, गीतादेवी खरेल, नरमाया कार्की, पवित्रा लिम्बू, भोजकुमारी नेपाल र मनमाया तिवारीको उम्मेद्वारी परेको थियो । त्यस्तै बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेल पहिलो भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्