झापा , चैत २८ । गर्भावस्थामा महिलालाई त्यसअघि नदेखिएका विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् ।

नियमित चिकित्सकको सल्लाहसँगै गर्भवतीले घरमै रहँदा पनि यो अवस्थामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । सेन्टर फर डिजिज कन्ट्रोल ( सीडीसी )का अनुसार गर्भावस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ ।
डेट नपुगी शिशु जन्मिन सक्नेबारे सजग रहने
सामान्यतया अन्तिम पटक महिनावारी भएको ३८ देखि ४० हप्ता शिशु गर्भमा रहन्छ । तर, डेटभन्दा तीन हप्ता वा सोभन्दा अगाडि नै शिशु जन्मिएमा विभिन्न समस्या देखिन सक्छन् । डेट नपुग्दै जन्मिएका शिशुमा विभिन्न अशक्तता देखिनुका साथै मृत्युसम्मको सम्भावना हुनसक्ने भएकाले अन्तिम महिनामा गर्भको अवस्था र खतराका लक्षणहरुबारे सजग रहनुपर्छ ।
मधुमेह नियन्त्राणमा ध्यान दिने
कतिपय महिलालाई गर्भावस्थामा मधुमेहको समस्या देखिनसक्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेस्नल डाइबिटिज भनिन्छ । यो समस्या गर्भवती भएको २४ देखि २८ हप्ताभित्र देखिनसक्छ । सीडीसीका अनुसार ६ देखि ९ प्रतिशत महिलामा गर्भावस्थामा यो समस्या देखिने गरेको छ । यसले आमालाई मात्रै नभई जन्मिने शिशुलाई समेत असर गर्नसक्ने भएकाले थाहा पाउनसाथ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
नियमित फोलिक एसिड/आइरन खाने
फोलिक एसिडमा हुने भिटामिन ‘ बी ’ ले शिशुको शारीरिक संरचनाको विकासमा मद्दत पुर्याउँछ । आइरन चक्कीले रगतमा हेमोग्लोबिनको मात्रा बढाई रगतमा रक्तसञ्चारमा समेत सहजता पुर्याउँछ । त्यसैले गर्भावस्था अगाडि र गर्भावस्थामा यी दुई कुराहरु नियमित खानु महत्वपूणर् हुन्छ ।
धुमपान र मद्यपान नगर्ने
गर्भावस्थामा मद्यपान गरेमा शिशुको भित्रि तथा बाहिरी शरीरिक संरचनामा असर देखिन्छ । मद्यपानको मात्रा जति बढ्छ त्यति नै यसको असर बढी भएको शिशु जन्मिनसक्ने सम्भावना रहन्छ । त्यसैले गर्भावस्थामा धुमपान र मद्यपान गर्दै नगर्नु उचित हुन्छ ।
खोपको मात्रा पूरा गर्ने
गर्भावस्थामा तोकिएका खोपको मात्रा पूरा गर्दा आमा र शिशु दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ । नेपालको हकमा गर्भावस्थामा टीटी खोपको दुई मात्रा दिने गरिएको छ । साथै गर्भावस्थामा दिइने खोपले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्दछ ।
संक्रमण र अन्य रोगको जोखिमबाट बच्ने
गर्भावस्थामा सरुवा तथा संक्रमणजन्य रोगले छिट्टै आक्रमण गर्नसक्छ । त्यस्तै उच्च रक्तचाप, मधुमेहजस्ता समस्याले आमा र शिशु दुवैलाई दीर्घकालीन समस्या निम्त्याउँन सक्छन् । संक्रमणजन्य रोगबाट बच्न घरमै सावधानी अपनाउनु र अन्य स्वास्थ्य जोखिमबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्