झापा , बैशाख ४ । चुनावी अस्तित्वसंग जोडिएकाले झापामा गठबन्धन भत्किन नहुनेमा कांग्रेस इतर सत्तारुढ दलहरुले जोड दिएका छन् ।

आफूहरु गठबन्धन भत्किन नहुने चट्टानी अडानमा रहेको उनीहरुको भनाई छ । स्थानीय तह निर्वाचनका लागि झापामा गठबन्धनबीच उम्मेदवार छनोटमा तालमेल हुन नसकेपछि गठबन्धन भत्किने आशंका गर्न थालिएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पदाधिकारीले १५ वटै पालिकाहरू उम्मेदवार भागबन्डाका लागि छलफल गर्दै आएका छन् । तर, छलफलमा काँग्रेस, माओवादी र समाजवादीले आ–आफ्नै अडान नछाडेपछि छलफल निष्कर्षमा पुग्न नसकेको हो ।

गठबन्धन विराधी शक्तिहरुले खेल्न खोजेको नेकपा माओवादी केन्द्रका सह इन्चार्ज सीपी कडरियाले प्रतिक्रिया दिए । उनले गत स्थानीय तहको निर्वाचनको मतभारलाई हेर्दा कांग्रेस र माओवादी ५८ः४२ को अनुपातमा भएपनि आफूहरुले ७०ः३० को अनुपातमा मात्र सिट संख्या मागेको दावी गरे । उनले आफूहरु बढीभन्दा बढी लिन खोजेको आरोपको खण्डन गर्दै कसैले कसैबाट लिने दिनेगरी भागबन्डा गर्न नहुने तर्क गरे ।

अर्का गठबन्धन दल नेकपा एकीकृत समाजवादीका झापा जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले माओवादी पार्टीले असहज ढंगले माग्दा समस्या आएको बताए । कांग्रेसलाई १४ वटा पालिका प्रमुख दिएर दमक नगरपालिकाको प्रमुख र १० वटा उपप्रमुख लिने माओवादीको अवसरवादी चरित्रले सहमति हुन नसकेको उनले दावी गरे । उनले आफूहरु गठबन्धनको मर्म र भावनाविपरित नजाने धारणा राखे ।

गठबन्धनमा भागबन्डा नमिलेको भन्दै काँग्रेसले चुनावी गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले फेसबुक स्ट्याटसमा लेखेका छन्, ’नेपाली कांग्रेसका सबै शुभचिन्तक, मतदाता, समर्थकहरू रुखमा मतदान गर्ने तयारीमा रहनुहोस् । आम कार्यकर्ताको व्यग्र चाहनाअनुसार झापा कांग्रेस बोल्ड निर्णय गर्न गइरहेछ । जय नेपाल !’

एकीकृत समाजवादीले शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिकासहित अन्य २ गरेर पाँच वटा पालिकामा आफ्नो उम्मेदवारी रहनुपर्ने बताएको र माओवादीले दमक, गौरीगञ्ज , झापासहित ५ वटा पालिकामा आफूहरूले उम्मेदवारी पाउनु पर्ने प्रस्ताव गरेको नेपाली काँग्रेस झापाका सभापति देउमान थेबेले एक टेलिभिजन कार्यक्रममा बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्