झापा , बैशाख ५ । अभिनेता पल शाहले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी एक नाबालिकले बयान फेरेपछि घटनाले नयाँ मोड लिएको छ ।

आफूमाथि तनहुँ र गैडाकोटमा पलले बलात्कार गरेको जाहेरी दिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी हुन् । उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि बलात्कार भएको बताएकी थिइन् भने अदालतमा बयान फेरेर बलात्कार नभएको बयान दिएकी हुन् । आइतबार (हिजो) जिल्ला अदालत तनुहँमा बयान दिने क्रममा भने नाबालिगले आफूमाथि बलात्कार नभएको अरुको दबाब र उक्साहटमा जाहेरी दिएको बयान दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी पीडितले प्रहरी र अदालतमा दिएको बयान फरक आएको बताए । उनका अनुसार पल प्रकरणमा १२ सय पानाको अनुसन्धान प्रतिवेदन अदालतमा छ । पीडितले नै बयान फेरेपछि पल शाह छुट्ने उनका समर्थकको बुझाइ छ । सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी बयान फेरिँदैमा मुद्दा टुङ्गिने र अदालतबाट सफाइ पाइहाल्ने अवस्था नहुने बताउँछन् । उनले भने, “बयान फेरिँदैमा अभियुक्त छुट्ने भन्ने हुँदैन । मिसिलको अध्यनन, संकलन भएका भौतिक प्रमाणका आधारमा पनि अदालतले फैसला गर्छ । १२ सय पृष्ठको प्रतिवेदन पनि छ । त्यसको पनि अध्ययन अदालतले गर्छ ।”

कसैले न्याय चाहिँदैन भनेको अवस्थामा एकोहोरो थोपर्ने अवस्था नभए पनि प्रमाणहरुले घटना पुष्टि हुने भएमा बयान फेरेकै आधारमा कोही निर्दोष नहुने अधिकारी बताउँछन् । जिल्ला हुँदै यो मुद्दा सर्वोच्चसम्म पुग्नसक्छ । अदालतमा नियमित प्रक्रिया चलिरहेकाले अदालतको फैसला कुर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार घटना समयमै प्रहरीसम्म नपुग्दा प्रमाण लोप हुने, नष्ट हुने अवस्था रहने सम्भावना हुन्छ । प्रहरीले पल प्रकरणमा भौतिक रुपमासमेत बलात्कार पुष्टि हुने प्रमाण जुटाएको दाबी गर्दै आएको छ । पल प्रकरणमा जोडिएर विभिन्न अडियो, म्यासेजहरु समेत बाहिरिएका थिए । पीडितले यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत पलले आफूलाई मदिरा सेवन गराएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । पलविरुद्ध पीडितका बुबाले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गैडाकोटमा जाहेरी दिएका थिए । उनले आफूलाई प्रेममा पारेको र विवाह गर्छु भनेर बलात्कार गरेको बताएकी थिइन् । शाहले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । पलविरुद्ध तनुहँसहित दुई जिल्लामा मुद्दा दायर भएको छ । दुवै अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्