बिर्तामोड , बैशाख ५ । आगामी स्थानीय निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट चारजनाको नाम सिफारिस भएको छ ।

आज बसेको कांग्रेसको नगर समितिको बैठकले भोजराज सिटौला , जलकुमार गुरुङ , हर्कलाल गिरी र उमा सिवाकोटीको नाम पठाएको हो ।

पहिलो नम्बरमा सिफारिसमा परेका सिटौला नगर सभापति र बिर्तामोड नगरपालिकाका ३ नं वडाध्यक्ष हुन् । त्यस्तै २ नं मा परेका गुरुङ गत स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रहेका थिए । त्यस्तै तेस्रो नम्बरका गिरी साविक अनारमनी गाउँ पञ्चायतका प्रधानपञ्च र महिलाको रुपमा सिफारिसमा परेकी सिवाकोटी महिला नेतृ हुन् ।

त्यस्तै उपमेयरमा पार्वता गिरी, मीरा खड्का , पार्वता बिमली ,दिनेश पराजुली , संजय न्यौपाने , लीला मैनाली, राधा सुब्बा,अर्चना बुढाथोकी र राजकुमार राजवंशीको नाम पठाइएको छ । नगर समितिबाट निर्णय गरी ती नामहरु प्रदेश क समितिमा पठाइएको नगर सभापति सिटौलाले बताए ।

त्यस्तै वडा समितिहरुले पनि वडा अध्यक्ष र वडा सदस्यहरुको नाम सिफारिस गरी पठाएका छन् । वडा नं १ मा वडाध्यक्षका लागि देविका बस्नेत, बलराम कार्की र तिलक खनालको नाम पठाइएको वडा सभापति रघुनाथ सापकोटाले बताए । त्यस्तै वडा नं २ मा धर्म लक्सम्बा , गंगा ओडारी र उर्मिला ढकालको नाम वडाध्यक्षका लागि पठाइएको छ । त्यस्तै वडा नं ३ को वडाध्यक्षका लागि ७ जनाको नाम पठाइएको छ । प्रेम उप्रेती , मनोज बुढाथोकी , दिवाकर प्रसाई , धर्मराज माझी , सुरेन्द्र कार्की , पदमप्रसाद प्रसाई र सृष्टि दाहालको नाम पठाइएको हो । त्यस्तै वडा नं ५ बाट रोहित प्रसाईको एक्लो नाम वडाध्यक्षका लागि पठाइएको जनाइएको छ । त्यसैगरी वडा नं ४ मा वडाध्यक्ष पदका लागि २६ जना आकांक्षी देखिएका छन् । उनीहरुलाई मिलाएर सिफारिस गर्न सोमबार साँझसम्म वडा समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्