झापा , वैशाख ८ । नेकपा एमालेले प्रदेशसभा सदस्यहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेपछि प्रदेश सांसदहरु एकराज कार्की र गोपालचन्द्र बुढाथोकीले उम्मेदवार बन्न नपाउने भएका छन् ।

बिहीबार बालकोटमा बसेको सचिवालय बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो । ‘यसबारे धेरै कुरा भएन । प्रदेश सांसदलाई उम्मेद्वार नबनाउने भन्ने भयो’, एक नेताले भने । एमालेको यो निर्णयपछि बिर्तामोड नगरपालिकाको मेयरमा दावी गरेका एकराज कार्की र मेचीनगर नगरपालिकाको मेयरमा दावी गरेका गोपालचन्द्र बुढाथोकी उम्मेदवार बन्न नपाउने भएका छन् ।

मेचीनगर नगरपालिकाको मेयर पदका लागि प्रदेश सांसद बुढाथोकी र बिर्तामोड नगरपालिकाको मेयर पदका लागि प्रदेश सांसद कार्कीले पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा मेचीनगरमा प्रदेश सांसद बुढाथोकी पहिलो भएका थिए भने बिर्तामोडमा प्रदेश सांसद कार्की दोस्रो भएका थिए ।

मेचीनगरको मेयर पदका लागि भएको आन्तरिक निर्वाचनमा मतभारका आधारमा सबैलाई उछिनेर प्रदेश सांसद बुढाथोकी पहिलो भएका थिए । मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटी सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका थिए ।

बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएकी थिइन् । त्यस्तै दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका थिए । कार्यकाल बाँकी रहँदै स्थानीय सरकारका लागि ती प्रदेश सांसदहरुले चाहना देखाएपछि अन्य आकांक्षीहरु रुष्ट भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्