बिर्तामोड, बैशाख ८ । स्थानीय निर्वाचनमा उम्मेदवारको भागवन्डा नमिलेपछि झापामा गठबन्धनबीचको सहमति टुटेको छ ।

गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट कार्यदलमा रहेका कृष्ण हुमागाई अलि बढी अपमानजनक रुपमा प्रस्तुत भएपछि सहमति नहुने देखेर आफूहरु गठबन्धनबाट बाहिरिएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए । उनले अस्ति गरिएको सहमतिभन्दा पछि हटेर आफूहरुलाई अपमान गर्न खोजिएको बताए ।आफूहरुले ४ वटा उपप्रमुख मागेकोमा कांग्रेस र माओवादीले मुश्किलले एउटा उपप्रमुख र ४ वटा वडाध्यक्ष मात्र दिन खोजेपछि चित्त नबुझेर आफूहरु छोडेर हिडेको उनले बताए ।

गठबन्धन छोडेको कुरा औपचारिक रुपमा घोषणा नगरेपनि कार्यदलका अरु सदस्यहरुलाई आफूहरुले भनेर हिडेको उनले जानकारी दिए । गठबन्धनमा सहमति नभएपछि नेकपा समाजवादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए ।

भागवन्डामा सहमति नजुटेपछि गठबन्धनमा विवाद शुरु भएको छ । त्यस्तै उम्मेद्वारको टुंगो नलागेपछि आफूहरुले पनि तयारी शुरु गरेको जसपाका जिल्ला अध्यक्ष दिपेनवाला राईले बताए । जहाँ मिल्छ त्यहाँ छोडिदिने र नमिलेको ठाउँमा आफ्नै उम्मेदवार खडा गर्नेगरी आन्तरिक तयारी थालेको उनले जानकारी दिए । आफूहरुले एउटा उपमेयर र ९ वटा वडाध्यक्ष दावी गरेकोमा कांग्रेस र माओवादीले मुश्किलले ५ वटा वडाध्यक्ष दिन खोजेको राईले बताए ।

कांग्रेस र माओवादीले आन्तरिक सहमति गरेर नेकपा समाजवादी र जसपालाई बाइपास गर्न खोजेको उनीहरुको बुझाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्