बिर्तामोड, बैशाख १३ । बिर्तामोड ३ बिर्ताबजार निवासी जनककुमारी थापा मगरलाई ‘जानुका भाउजु ’ भनेर प्रायः धेरैले चिन्छन् ।

स्थानीय क्षेत्रका हरेक सामाजिक , धार्मिक र विकास निर्माणका कार्यमा सरिक हुँदै आएकी जानुकाले आफ्नै सक्रियता र सहयोगी भावनाले गर्दा ‘जानुका भाउजु’को सम्मान पाएकी हुन् । तिनै सुखदुखकी सारथी जानुकाले नेपाली काग्रेसका तर्फबाट बिर्तामोड वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी छन् ।

२०६९ सालदेखि बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रको निरन्तर कोषाध्यक्ष , बिर्ताबजार व्यवस्थापन समितिको सदस्य , देवी गुठी मठमन्दिर संरक्षण समितिको सदस्य हुँदै हाल कोषाध्यक्ष, प्रतिनिधिविहीन अबस्थामा दुई कार्यकाल वडा मंचको अध्यक्ष( साविक वडा न. ८ र ९ को) , नेकपा माओवादीमा रहँदा महिला नगर अध्यक्ष ,वडा कमिटी अध्यक्ष , नगर सदस्य , हाल त्रिवेणी टोल विकास संस्थाको अध्यक्षलगायतका धेरै पदमा रहेर उनले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकी छन् । पहिलादेखि नै काम गरिरहेकाले सार्वजनिक पदमा बसेर अझ धेरै जनताका लागि काम गर्ने उद्धेश्यले आफूले उम्मेदवारी दिएको उनले बताइन् । उनले आफू वडा सदस्यमा निर्वाचित भए नगरपालिकाले दिने सुविधाबाट हरेक टोल विकास संस्थाका महिलालाई ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेकी छन् । बिर्तामोड ३ मा ३२ वटा टोल विकास संस्था रहेका छन् ।

२०६१ सालदेखि माओवादी पार्टीमा रहेकी जानुका भर्खरै नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै उनीसहित करीव दुई सयजनाले माओवादी परित्याग गरेका थिए । स्थानीय क्षेत्रमा रहेर धेरै लगनशील भएर काम गर्दा पनि पार्टीको दुई खेमाका कारण उपलब्धि नभएपछि माओवादी परित्याग गरेर प्रजातान्त्रिक पार्टी कांग्रेसमा आएको उनले बताइन् । बिर्तामोड ३ मा कांग्रेसको तर्फबाट प्रेम उप्रेती वडाध्यक्ष , जानुका थापा मगर , पूर्णप्रसाद राजवंशी, संजय शर्मा सदस्यमा उठेका छन् ।

जानुकाको परिवारलाई बिर्ताबजारकै पुरानो बासिन्दा मानिन्छ । विगत चार पुस्तादेखि सो परिवारको बसोबास देखिन्छ । उनी छत्रसिंह दर्लामी मगर (धौला बुढा)का बुहारी हुन् । बिर्तामोड नगरपालिकाको साविक अनारमनी र गरामनी गाविस जोड्ने एउटा पुल छ । बिर्तामोड— भद्रपुर सडकमा अवस्थित त्यो पक्की पुल धौला पुलले चिनिन्छ । त्यस पुलको आफ्नै इतिहास छ । धौला (गोरो ) बुढाले बनाइदिएकाले त्यसको नाम धौला पुल रहन गएको हो । गोरो भएर धौला बुढा कहलिएका छत्रसिंहले १९९० सालतिर त्यहाँ काठको पुल बनाइदिएका थिए । बिर्तामोड—भद्रपर सडक कालोपत्रे हुँदासमेत त्यो काठे पुल रहिरहेको थियो । पछि जीर्ण भएपछि त्यसलाई भत्काएर पक्की बनाइएको हो । तिनै धौला बुढाले बिर्ताबजारमा मिल खोलेका थिए । जसलाई धौलाको मिल भनिन्थ्यो । जुन अहिले पनि छ ।

फत्तेपुर निवासी हस्तबहादुर राना मगर र सरस्वती राना मगरकी छोरी जानुकाले धौलाका छोरा शम्भुसंग २०४६ सालमा विवाह गरेकी थिइन् । शम्भु पेशाले अधिवक्ता हुन् । जानुकाका एक छोरा र एक छोरीमध्ये छोरा प्रभास थापा मगर बिर्तामोड नगरपालिकाका इन्जिनियर र छोरी प्रतिज्ञा थापा मगर अर्जुनधारा नगरपालिकाकी स्वरोजगार अधिकृत रहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्