झापा , बैशाख १४ । मोरङमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका र सुन्दरहरैचा नगरपालिकामा सवारी दुर्घटना भएको हो । बुढीगंगा गाउँपालिका –३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७– च २२६६ नम्बरको कारले पूर्वबाट हाईवेतर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक बुढीगंगा–२ बगवनका ३० बर्षीय शोभा राजवंशी घाईते भएका थिए । घाईते राजवंशीलाई उपचारको लागि बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर–७ का २९ बर्षीय शैलेन्द्रप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । हिजो राति ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानीय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए । घाईते मुखिया स्थानीय अस्पतालमा उपचारपश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्