झापा , बैशाख २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमार्फत झापा जिल्ला लाल किल्ला बनाउने दाबी गरेका छन् ।

पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत गठबन्धनसँग नभएकाले बैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने उनको दावी छ ।
झापाको हल्दिबारी १ गोलधापमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने ल्याकत कसैसंग नभएको भन्दै चुनौती दिए । अध्यक्ष ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेकोसमेत चुनौती दिए । ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँचवटै दललाई पत्तासाफ गर्ने दाबी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गरे । ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै दललाई एकै पटक ‘क¥याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन’ उनले भने ।

उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे । ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकातिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ,’ ओलीले भने,‘एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’ ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको टिप्पणी गरे । ‘गठबन्धन उहाँहरुलाई कति फापेको छ उहाँहरु जान्नुहुन्छ । एमालेलाई चाहिँ फापेको छ’ उनले भने ।

देशमा परिवर्तनको शंखघोष गर्ने, कांग्रेसलाई त्यो बेला खुट्टा टेकाउन हिम्मत दिने पार्टी र त्यस आन्दोलनको जन्म भएको जिल्ला झापा भएको उनले बताए । त्यो युग परिवर्तनको शंखघोष र आन्दोलन अहिले देशको ठूलो पार्टी एमाले बनेको उनको भनाइ छ ।अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै विकास सम्भव भएकोले विकासका लागि एमालेलाई विजयी गराउनु पर्ने बताए । कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार डम्बर गिरीले सम्बोधन गरेका थिए । ओलीले हल्दिबारीसंगै भद्रपुर , धुलाबारी र बिर्तामोडमा सम्बोधन गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्