अर्जुनधारा , बैशाख २१ ।अर्जुनधारा नगरपालिका ११ की ९६ बर्षिया बृद्धा चम्पुकुमारी हेमरमलाई घर हस्तान्तरण गरिएको छ ।

श्रमिक टोल सन्थाल बस्तीकी बृद्धा चम्पुकुमारी हेमरम एक नातिनी सहित बस्दै आएकी छन् । नातिनी स्कुल पढ्दै गरेको र काम गर्न नसकेपछि सहयोगी तथा आफन्तले दिएको खाद्यान्नले उनले जिविका चलाउँदै आएकी छन् । घरको पानी नछेल्ने दुलो परेको छानो सँधै चुहिने गर्दा उनीहरु रातभर जागै बस्ने गरेका थिए । अब बर्खा शुरु हुनै लागेकोले कसरी बस्ने चिन्ता गर्दै ती बृद्धाले सामाजिक अभियन्ता गणेश ढुंगानालाई समस्या सुनाएकी थिइन् ।

ढुंगानाकै नेतृत्वमा सहयोगी मनका धनी अर्जुनधारा ११ घर भई हाल अमेरिका निवासी अरुणकुमार डाँगी, बिर्तामोड निवासी गणेश भट्टराई,रिता भट्टराईबाट ३१ हजार सात सयको आर्थिक सहयोग संकलन गरी सो रकमबाट टिन र बाँसको टाटी लगाइ पुनर्निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा स्थानीय सामाजिक ब्यक्तित्व दधिराम उप्रेती,तीर्थबहादुर राई,मोहन प्रसाई,रुपेन फागु,पत्रकार बिजय बराललगायतले सहयोगी दाताहरुलाई धन्यवाद दिएका थिए ।स्वच्छ समाजका लागि सामाजिक अभियानका अध्यक्ष गणेश ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रन्जित परियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्