दमक, बैशाख २१ । जनता समाजवादी पार्टीका प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङले आफ्नो पार्टीले दमक नगरमा उठाएका उम्मेद्वार विजयी भए दमकमा बन्दै गरेको सभागृहको नाम परिवर्तन हुन नदिने बताएका छन् ।

दमकमा हिजो पार्टीको चुनाव प्रचार समितिको कार्यालय उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि चाम्लिङले दमक ९ मा बन्दै गरेको सामुदायिक भवनको शिलान्यासको समयमा राखिएको फाल्गुनन्द सभागृहलाई परिवर्तन गरिएकोमा रोष प्रकट गरे ।

उक्त भवनको शिलान्यासको समयमा किरात धर्मका महागुरु तथा राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनको नाममा नामंकरण गरिएको थियो । तर, पछि एमाले नेतृत्वको सरकारले फाल्गुनन्द सभागृह नाम परिवर्तन गरेर दमक सभागृह राखेको हो । उक्त नाम परिवर्तन गरिएकोप्रति रोष प्रकट गर्दै उनले उक्त सभागृहको नाम शिलान्यासकै समयको फाल्गुनन्द सभागृह कायम गरिने बताए ।

त्यस्तै आफूहरुको पार्टी दमकमा गठबन्धनमा सहभागी नभएको जनाउदै आफ्नै चुनाव चिन्हमा निर्वाचनमा होमिएको बताए । जसपाको एउटा समूह राप्रपा, कांग्रेस, माओवादीको गठबन्धनमा केहि सदस्य लिएर सहभागी भएको छ भने अर्को समूह नगर प्रमुख र तीनवटा वडामा सदस्यको उम्मेद्वारी दिएर निर्वाचनमा होमिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्