झापा , बैशाख २२ । ईलाम नगरपालिका-८ की ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संलग्न १ जना पक्राउ परेका छन् ।

स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका -८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परेसंगै अनुसन्धानको क्रममा रिमालसंग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेपछि उनलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमालले उक्त घटना आफैले घटाएको भनी साबिती बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी देउमाई नगरपालिका-७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका -७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र उनकै भाइ २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य वादविवादकै क्रममा अन्धाधुन्ध कुटपिट गरी हत्या गरेको खुलेसंगै दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्