बिर्तामोड , बैशाख २२ । सबै नेताहरुले आफूलाई विकासे नेता भन्न रुचाउँछन् तर, विकास निर्माणमा सिन्कोसमेत भाँचेका हुँदैनन् । सबै राजनीतिक पार्टीभित्र केही मात्र विकासे नेता छन् । त्यसमा बिर्तामोड नगरपालिकामा संयुक्त गठबन्धनका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सीपी कडरिया पर्छन् ।

बंगुरभिट्टा सिंचाई आयोजनाको अनुगमन गर्दै

सार्वजनिक पदमा पुग्न नपाएपनि बिर्तामोडमा मात्र भएर उनले जिल्लाकै विकास निर्माणमा योगदान दिएका छन् । बाटोघाटो , विजुली , सिंचाइ , पुल कल्भर्ट , नदी नियन्त्रणजस्ता धेरै योजना उनले ल्याएका छन् । जनताको समस्या बुझेर विभिन्न निकायबाट बजेट ल्याउन सक्ने क्षमता भएकै कारण उनी लोकप्रिय छन् ।
घरघर र टोलमा बिजुली बत्ती पुर्याएर झलमल्ल बनाईदिएपछि दंग परेका बिर्तामोड ३ का बासिन्दा युवा नेता कडरियाले गरेको सहयोग अझै संझन्छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीका तर्फबाट विर्तामोड नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका कडरिया करिव ४ हजार मत ल्याएर पराजित बनेका थिए । निर्वाचित जनप्रतिनिधिले गर्नुपर्नेमा बिजयी मत नपाएर पनि कडरियाले करोडौको विकासका योजनाहरु ल्याएपछि खुशी हुँदै बिर्तामोड ३ का बासिन्दाले उनलाई तीन वर्षअघि सामूहिक रुपमा सम्मान गरेका थिए । जनताको लागि काम गर्न राजकीय पद चाहिन्न भन्ने कुरालाई विकासे नेता कडरियाले पुष्टि गरेका छन् । उनको पहलमा साढे १० लाख रुपैयाँको लागतमा बिर्तामोड नगरपालिकाको वडा न ३, ४ र ९ मा बत्ती नभएको ठाउँमा तारसहित २७ वटा नयाँ पोल र ३१ वटा पोलमा फोर फेजको लाइन जडान गरिएको हो । जसबाट ३ सय घरधुरी लाभान्वित भएका छन् ।

सामुदायिक स्वास्थ्य इकाइका लागि बजेट ल्याएपछि सम्मान गरिदैँ

त्यस्तै बिर्तामोडको एकता टोलमा साढे १२ लाख रुपैयाँको लागतमा ११ हजार केभी क्षमताको बिद्युत विस्तार र मर्मत सुधारको काम भएको थियो भने शहिद राममार्ग (हर्कलाल मार्ग) मा हाईटेन्सन लाइन र १ सय केभीको ट्रान्सफर्मर जडान गर्न आफूले नै पहल गरेको कडरियाले बताए । झापामा ९ वटा ट्रान्सफर्मर जडान गर्नका लागि आफ्नै देन रहेको उनको दावी छ ।

बिद्युतीकरणसंगै सडक, सिंचाई, खानेपानी, स्वास्थ्यलगायतका क्षेत्रमा पनि युवा नेता कडरियाले योगदान दिएका छन् । सिंचाई र नदी नियन्त्रणका लागि करोडौको बजेट ल्याउन कडरियाले पहल गरेका छन् । अर्जुनधारा ११ मा ६ करोड भन्दा बढीको बजेटमा बंगुरभिट्टा सिंचाई आयोजनाको निर्माण सम्पन्न भएको छ । सो आयोजनाबाट बिर्तामोड ६ र ७ का करिव ३ सय बिगाह जमिनमा सिंचाई सुविधा पुगेको बताइएको छ । त्यस्तै ६ करोड ७४ लाख रुपैयाँको लागतमा हर्चना तीनमुखे पैनी सिंचाई आयोजना पनि सम्पन्न भएको छ । सो आयोजनाका लागि आफूले नै पहल गरेको कडरियाले बताए । त्यस्तै उनकै पहलमा बिर्तामोडमा चारवटा सामुदायिक स्वास्थ्य इकाई संचालन भएको हो । शहीद चन्द्रमार्ग , बुट्टाबारी दक्षिण जाने बाटोलगायतका सडकको स्तरोन्नति गर्नका लागि आफूले सहयोग गरेको उनले बताए ।

त्यस्तै नदी नियन्त्रणमा पनि उनको सहयोग रहँदै आएको छ । अधुवा , देउनिया ,घाग्रालगायतका नदी नियन्त्रणमा उनले सहयोग गरेका थिए । पदमा नरहेर यति धेरै काम गर्न सफल कडरियाले गठबन्धनका तर्फबाट बिर्तामोड नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन् । ‘आफ्नो प्रयास र पहँुचले यति काम गर्न सकेँ’ उनले भने,‘ नगरवासीहरुले मत दिएर जिताए अझ धेरै काम गर्न सक्छु ।’ बिर्तामोडलाई स्मार्ट सिटी बनाउने उनको योजना रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्