बिर्तामोड, बैशाख २३ । बिर्तामोड नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार भोजराज सिटौलाले आफूहरुले निर्वाचन जिते बाल शिक्षकहरुको तलब २५ हजार पुर्याउने प्रतिवद्धता जनाएका छन् ।

चुनावी घरदैलोका क्रममा बिर्तामोड ५ को सुकुम्बासी टोलमा आयोजित कोणसभालाई संबोधन गर्दै उम्मेदवार सिटौलाले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफूहरुकै पहलमा नगरका बाल शिक्षकहरुको पारिश्रमिक १५ हजार पुगेको स्मरण गराउँदै निर्वाचन जिते त्यसलाई बढाएर २५ हजार पुर्याउने प्रतिवद्धता जनाए । तलबबाहेक संचयकोष र बीमाको सुविधासमेत उपलव्ध गराउने वचनवद्धता जनाए ।

त्यस्तै बाल शिक्षकसंगै नगरका विद्यालय कर्मचारीहरुको सेवा सुविधा पनि बृद्धि गर्ने उनको प्रतिवद्धता छ । बिर्तामोड नगरपालिकामा ४८ जना बाल शिक्षक र ३० जना विद्यालय कर्मचारी कार्यरत रहेका छन् ।बाल शिक्षकहरुले हाल मासिक १५ हजार र विद्यालय कर्मचारीहरुले मासिक १९ हजार ५ सय तलब पाउने गरेका छन् । उम्मेदवार सिटौलाले विभिन्न राजनीतिक पार्टीहरुले बिर्तामोड ५ का भूमिहीन सुकुम्बासीहरुलाई गुमराहमा राख्ने काम गरेकोमा अब आफूहरुले लालपूर्जा वितरण गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्