बिर्तामोड, बैशाख २४ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत गठबन्धनले घरदैलो अभियान बिर्तामोड–९ मा शनिबार सम्पन्न गरेको छ ।

शनिबार नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु समेतको उपस्थितिमा विभिन्न टोलमा कोणसभा गर्दै गठबन्धनले घरदैलो सम्पन्न गरेको हो ।

‘करिब १० दिन लामो घरदैलो कार्यक्रम हाम्रो वडामा सम्पन्न भएको छ,’ वडा नम्बर ९ का वडाध्यक्ष पदका उम्मेदवार मोहनप्रसाद सुब्बाले भने,‘अब मतदाता शिक्षाको कार्यक्रम चलाउँछौँ ।’ आफूहरुले वडाका अधिकांश घरमा गएर मतदातालाई आफ्नो प्रतिबद्धता सुनाएर मत मागेको उनले बताए ।

शनिबार वडा नम्बर ९ को कामाटोली, कन्चनबारी, लखिबारीस्थित भिमसेन मन्दिर, सतालसिंहबारीलगायतका स्थानहरुमा भएको कोणसभामा नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौला, उपप्रमुख पदका उम्मेदवार सिपी कडरिया, वडाध्यक्ष पदका सुब्बा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल, माओवादी केन्द्रका प्रदेश सदस्य अरुण श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पदका उम्मेदवार सिटौलाले आफूले चुनाव जिते पनि नजिते पनि ९ नम्बर वडाको सडक, कृषि, विद्युतलगायतको क्षेत्रमा काम गर्ने बताए । उनले कन्चनबारीका सडकमा भएको खाल्डो निर्वाचन सकिएको दुई दिनभित्रैमा आफ्नो पहलमा पुर्ने घोषणा गरे । आफूले कहिले झुठ नबोल्ने बताउँदै सिटौलाले यदि झुठ बोल्ने गरेको भए तीन÷तीन कार्यकाल वडाध्यक्ष निर्वाचित नहुने बताए । फुल बोकेर मन्दिरको मुर्ति चोर्न जानेहरुसँग होसियार रहन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गरे ।

उपप्रमुख पदका उम्मेदवार कडरियाले ९ नम्बर वडा कृषिका लागि उर्वर रहेको भन्दै मोटर बोरिङ जडान गर्ने, भोल्टेज सुधारका लागि काम गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरे । कडरियाले आफू जनप्रतिनिधि नहुँदा पनि वडा नम्बर ९ को विकासका लागि काम गरेको हुँदा जनप्रतिनिधि बनाएर थप जिम्मेवारीका साथ काम गराउन आग्रह गरे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशिला ढकालले मतदाताहरुलाई अन्य दलको भ्रममा नपरी गठबन्धनका सबै उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरिन् ।
माओवादी केन्द्रका प्रदेश सदस्य अरुण श्रेष्ठ कुबेरले घरका बालाई पानी दिन छाडेर पार्टीको बाको पछि लाग्नेहरुले विकास नगर्ने बताए । उनले गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि अति आवश्यक भएको धारणा व्यक्त गरे ।

वडाध्यक्षका उम्मेदवार सुब्बाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै निर्वाचित भए वडामा सुशासन कायम गर्ने, वडा कार्यालयलाई भौगोलिक हिसाबले मध्यभागमा निर्माण गर्ने, वडामा कार्यकर्ता पोस्ने काम बन्द गर्ने, ९ नम्बरलाई नमूना वडा बनाउनेलगायतका प्रतिबद्धता व्यक्त गरे । उनले वडाबासीलाई आफूले गरेका प्रतिबद्धता रेकर्ड गरेर राख्न आग्रह गर्दै सो अनुसार नभए आएर कान समाउन भने ।
वडा नम्बर ९ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष सुब्बा, महिला सदस्य चन्द्रमाया तामाङ, दलित महिला सदस्य नानुमाया लकान्द्री, वडा सदस्यहरु श्रीप्रसाद पाठक र गोविन्द उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्