बिर्तामोड,बैशाख २५ । नेकपा एमालेले निर्वाचनमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ ।

वैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि आयोजित घरदैलो र कोणसभामा एमालेले बालबालिकालाई प्रयोग गरेको पाइएको हो । निर्वाचन आचारसंहिताविपरित चुनाव चिन्ह सूर्य अंकित फेटा बालकको टाउकोमा लगाइदिएको तस्वीर भाइरल बनेको छ । तस्वीरमा हाँस्यकलाकार विल्सन विक्रम राईसंग सूर्य चिन्ह अंकित फेटा लगाएर ती बालक उभिएका छन् ।

एमालेले हाँस्यकलाकार राईलाई चुनावी सभामा सहभागी गराउँदै आएको छ ।उनी शनिबार अर्जुनधारा र आइतबार बिर्तामोडका कार्यक्रममा सहभागी भएका थिए । बालबालिकाहरुलाई प्रयोग गरेर बालबालिकाको राजनीतिक दुरुपयोग नगर्न सरकार र विभिन्न संघसंस्थाहरुले जोड दिँदै आएका छन् ।
राजनीतिक दलहरुले आआफ्नो घोषणापत्रमा निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग नगर्ने जनाएपनि त्यसलाई कार्यान्वयन गरेका छैनन् ।

यसैबीच बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई अक्षरस पालना गर्ने बताएका छन् ।
नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियानअन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्धतापत्र हबहु कार्यान्वयन गर्ने बताइन् । उनले आफ्नो ५ वर्षको कार्यकालमा सशक्त ढंगले प्रतिवद्वता पुरा गर्ने आश्वासनसमेत दिइन् । प्रतिवद्धतापत्रमा जनमुखी कुराहरु समेटिएको बताउँदै उनले एक पटक सबैले पढ्न आग्रहसमेत गरिन् ।

यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्धतापत्रमा उल्लेख गरिएका योजनाहरु अक्षरस पालना गर्दै कार्यान्वयन गरिने बताए । स्वास्थ्य,शिक्षा,कृषि,पशुपंछी,पर्यटन,भौतिक पूर्वाधार,व्यवसाय,खेलकुदलगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्धतापत्रमा समेटिएको भन्दै उनले कार्यान्वयन गरिने बताए ।

बिर्तामोडमा गठवन्धनभन्दा बलियो देखिएको नेकपा एमालेका उम्मेदवारहरुले नगरका सबै टोलमा पुगेर यसअघि एमाले सरकारले नगरमा गरेका काम र भावी योजनाका बारेमा जानकारी गराउँदै आएका छन् । नेकपा एमालेले आइतबार वडा नम्बर ८का गरामनी,हर्चना,नेपाल चोकलगायतका स्थानमा कोणसभा सम्पन्न गरेको छ । कोणसभामा एक हजार भन्दा बढीको उपस्थिति रहेको दावी गरिएको छ ।

कोणसभामा हाँस्यकलाकार विल्सन विक्रम राईको समेत सहभागिता रहेको थियो ।उनले विकास र समृद्विको लागि नेकपा एमालेका उम्मेदवारलाई भारी मतले विजयी गराउन सबैसंग आग्रह गरे ।
बिर्तामोड ८मा विष्णुप्रसाद भट्टराई वडाध्यक्षको उम्मेदवार छन् । वडा नम्बर ८को कोणसभामा एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले प्रदेश १ कमिटी इञ्चार्ज देवराज घिमिरेलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्