बिर्तामोड, वैशाख २६ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूणर्, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल गरेका छन् ।

नागरिक अगुवा संस्थाका प्रतिनिधिको सोमबार बिर्तामोडमा सम्पन्न वैठकपछि भयरहित वातावरण र निर्वाध रुपमा मतदान गर्न पाउने आम मतदाताको अधिकार प्रत्याभूतिका लागि अपिल गरिएको जनाइएको छ । निर्वाचन सम्पन्न गर्न नागरिक समाजको पनि अहम् भूमिकाको आवश्यकतालाई आत्मसात र दायित्वबोध गर्दै निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता नागरिक तहबाट व्यक्त गरिएको छ । राजनीतिक दल तथा उम्मेद्वारहरुबाट आचारसंहिताको उल्लंघन भइरहेका विषयप्रति चिन्ता र सरोकारवालाको ध्यानाकर्षण गर्दै नागरिक समाजका प्रतिनिधिले अपिलमा उल्लेखित विषयको पालना र व्यवस्थापन गर्न आग्रह गरेका छन् । संवाद समूह झापाको संयोजनमा भएको वैठकमा सरकारी-गैरसरकारी क्षेत्र, राजनीतिक दल तथा उम्मेद्वारहरु सहितका सरोकारवालाले यसअघि सार्वजनिक रुपमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि पनि नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।
वरिष्ठ अधिवक्ता एवं नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहित १३ नागरिक अगुवा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी अपिल जारी गरेका हुन् ।

आम मतदातालाई वैशाख ३० गते समयमै आफ्नो मतदान केन्द्रमा पुगेर स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेद्वारलाई मतदान गर्न नागरिक समाजले अपिल गरेको छ । अपिलमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) झापाका संयोजक डा. रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, नेपाल बार एसोसिएसन झापाका अध्यक्ष हरिप्रसाद अधिकारी, गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले हस्ताक्षर गरेका छन् । त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक., एनप्याब्सन झापाका कोषाध्यक्ष मोहन आचार्य, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, र इन्सेक झापाका प्रतिनिधि नरेश खातीले अपिलमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्