बिर्तामोड ,बैशाख २६ । संयुक्त गठबन्धनले भोलि बिर्तामोडमा चुनावी सभा गर्ने भएको छ ।

संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति बिर्तामोडको आयोजनामा भोलि दिउँसो २.३० बजे बिर्तामोडको हनुमान सेन्ट्रल अगाडि चुनावी सभा गरिने जनाइएको छ । सभालाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले संबोधन गर्ने कार्यक्रम रहेको परिचालन समितिका संयोजक लक्ष्मी आचार्यले बताए ।

यसैबीच बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको टीम बिर्तामोडमा विजयी हुने माहोल देखेपछि विपक्षी आत्तिएको गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार भोजराज सिटौलाले बताएका छन् । चुनावी कोणसभाको क्रममा बिर्तामोड वडा नम्बर १ मा सोमबार भएको कार्यक्रममा बोल्दै गठबन्धनको माहोल देखेर विपक्षीहरु आत्तिएको बताएका हुन् ।

गठबन्धनको माहोल देखेर आत्तिएको विपक्षीले फलानोलाई हराउँछु भन्न थालेको उनले बताए । ‘अरुलाई हराउँछु हैन आफु जित्छु भनेर हिड्ने हो,’ उनले भने । यसपटको निर्वाचन गठबन्धनले जित्ने सिटौलाले जिकिर गरे । निवर्तमान जनप्रतिनिधिले गरेको बेइमानीका कारण जनताले यस पटक गठबन्धनलाई मत दिन आतुर रहेको सिटौलाको भनाई थियो । ‘अधिकांश ठाउँमा उहाँहरुप्रति आक्रोश छ,’ सिटौलाले भने,‘आफ्नो मान्छे नभए अर्को ठाउँबाट ल्याएरपनि उपभोक्ता समिति बनाएका छन्, त्यसको मतलब के हो?’

नेकपा एमालेको बहुमतको सरकार भएपनि त्यहि भित्रको आन्तरिक विवादका कारण पनि कतिपय काम नभएको उनले बताए । त्यस्तै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले बिर्तामोडको समृद्धिका लागि गठबन्धनको अवधारणा काफी रहेको बताए । बिर्तामोडमा त्यस्तो ठूलो समस्या नभएपनि समस्यालाई हाउगुजी बनाइएको बताए । बिर्तामोडको फोहोरलाई ठूलो समस्याको रुपमा लिइएपनि त्यसलाई मोहरमा बदल्ने योजना आफूहरुसँग रहेको बताए । वडाध्यक्ष पदका उम्मेदवार बलराम कार्कीले यस अघिका जनप्रतिनिधि वडाबासीको सेवक हैन मालिक बनेको आरोप लगाए । वडाबासीलाई विकासमा विभेद गरिएको बताउँदै कार्कीले निर्माण सामग्री खरिदमा एकाधिकार कायम गरिएको बताए ।

बिर्तामोड वडा नम्बर १ मा वडाध्यक्ष पदमा कार्की, महिला सदस्यमा जया अधिकारी खनाल, दलित महिला सदस्य रनमाया रसाइली तथा वडा सदस्यहरुमा प्रकाश खतिवडा र रामकुमार राउत चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्