बिर्तामोड, बैशाख २९ । स्थानीय निर्वाचनको अघिल्लो राति बिर्तामोडको दुई ठाउँमा झडप भएको छ ।

बिर्तामोडको वडा नं १० र ८ मा दुई पक्षबीच झडप भएको हो । बुधबार राति मौन अवधिमा नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड १० की दलित महिला सदस्य दिपिका सिवा ठुटेबरस्थित शिवनारायण चौधरीको घरमा आएपछि विवाद भएको थियो । उनले आफूलाई नातामा पर्ने भएकाले चौधरी परिवारले खाना खान बोलाएको बताएकी छन् । तर, वडामा गठबन्धन बनाएका एमाले र राप्रपाका कार्यकर्ताले मौन अवधिमा उम्मेदवार भोट माग्न आएको भन्दै शिवनारायण चौधरीको घरसहित पुरै गाउँ घेराउ गरेका थिए । उनीहरुले आफ्नो घरबाट उम्मेदवार सिवालाई बाहिर निकाल्ने प्रयास गर्दै ढुंगामुढा गरेको शिवनारायणले बताए । ठूलो संख्यामा भीड जम्मा भएर दुवै तर्फबाट ढुंगा हानाहान भएपछि प्रहरीले उद्धार गरी सिवालाई घरसम्म पु¥याएको थियो । आफूहरुले उम्मेदवार सिवालाई उद्धार गरी घरसम्म पु¥याएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए । त्यसक्रममा झडपमा उत्रिएका कार्यकर्ताको चारवटा मोटरसाइकल बरामद भएको उनले जनाए ।त्यस्तै बुधबार राति बिर्तामोड ८को गणेश चौकमा दुई पक्षबीच झडप भएको छ । राजु चौधरीका भाइलाई कुटेको विषयमा दुई पक्षबीच झडप भएको कुँवरले बताए । प्रहरीले घटनास्थलबाट एक थान खुकुरी बरामद गरेको छ ।