बिर्तामोड , जेठ ८ । बिर्तामोड नगरपालिका वडा नं ६ को वडा सदस्यमा हारेपछि एन्बिन्द्र खत्रीले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् ।

निवर्तमान वडाध्यक्ष खत्री यस पटकको निर्वाचनमा १०५३ मत ल्याएर पराजित भएका हुन् । खुल्ला सदस्यमा कांग्रेसकै जिवन बाँसकोटा ११७८ र एमालेका खेमनाथ अधिकारी १०५८ मतसहित निर्वाचित भएका थिए । वडा अध्यक्षसहित चारवटा पद कांग्रेसले जितिरहँदा कांग्रेसकै खत्रीले भने हार व्यहोरेका हुन् ।
उनले सामाजिक संजालमार्फत अब आफू नेपाली कांग्रेस पार्टीबाट अलग रही स्वतन्त्र तरिकाले काम गर्ने बताएका छन् । आफूलाई हराएकोमा गुनासो गर्दै उनले भनेका छन् , ‘यहि बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मलाई भोट दिने सम्पूर्ण साथीभाइमध्ये केही साथीहरूको मन जित्न बाँकी रहेछ ।’