झापा , जेठ ८ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङबाट जोगिन आग्रह गरेको छ ।

चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुने भन्दै यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्राधिकरणको जोड छ । चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यसबाट जोखिन सकिने प्राधिकरणले जनाएको छ । घरहरुलाई धातुका सामग्री प्रयोग गरी चट्याङबाट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ । “तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथा पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गरेको खण्डमा धेरै हदसम्म हाम्रा घरहरु चट्याङबाट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ । चट्याङबाट बच्न गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथवा सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । विपद्बाट जोगिन चनाखो हुन र यसबारे चासो राख्न पनि प्राधिकरणको आग्रह छ ।