कमल , जेठ ८ । गत स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका बेनुप्रसाद शिवाकोटी यस पटकको चुनावमा वडा सदस्यमै पराजित भएका छन् ।

अघिल्लो पटकको चुनावमा लोकप्रिय मत ल्याएर पालिका उपाध्यक्षमा निर्वाचित भएका शिवाकोटी यसपटक भने आफ्नै वडा नं.६ मा वडा सदस्यमै पराजित भएका हुन् । गत स्थानीय निर्वाचनमा शिवाकोटीले ९ हजार ४ सय १८ मत प्राप्त गरेर नेपाली काँग्रेसकी दीपा भण्डारी गौतमलाई पराजित गरी कमल गाउँपालिकाको उपाध्यक्ष बन्ने अवसर प्राप्त गरेका थिए । भण्डारीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी थिईन् ।
शिवाकोटी कमल गाउँपालिका –६ को वडा सदस्य पदका लागि १ हजार ४ सय २६ मत ल्याएर पराजित हुँदा खुल्ला सदस्यमा गठबन्धनका तर्फबाट उम्मेद्वार नेपाली काँग्रेसका ओमप्रसाद पराजुली १ हजार ४ सय ३५ मतका साथ विजयी भएका छन् । कमल गाउँपालिकाको वडा नं ६ को वडा अध्यक्षमा एमालेका नरेन्द्र भट्टराई विजयी भए । आफ्नै वडामा शिवाकोटीबाहेक सबै पदमा नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।
जिल्ला समन्वय समितिको प्रमुख वा पदाधिकारीको रुपमा आउन खोजेका शिवाकोटीलाई वडा नं. ६ का मतदाताले सदस्य पदमै पनि पत्याएनन् । उनको यो हारसँगै उनी जिल्ला समन्वय समितिमा जाने बाटो पनि बन्द भएको छ ।