कुमरखोद, जेठ ११ ।झापा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष जयनारायण शाहले निर्वाचित भई पदभार सम्हालेको भोलिपल्ट वडा नं २ को बालुवाटारमा विपन्न परिवारहरुलाई बस्नको लागि आवास घरको शिलान्यास गरेका छन् ।

झापा गाउँपालिकामा यहि आर्थिक वर्षमा ३०० वटा घर विपन्न परिवारले बस्नको लागि पाउने भएका छन् । झापा गाउँपालिकाको सुरक्षित आवास कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका कोही पनि परिवार असुरक्षित आवासमा बस्न नपरोस् भनेर अतिविपन्न परिवारहरुलाई १ लाख ८० हजार बराबरको घर निर्माण कार्यक्रम संचालनमा छ । विभिन्न दातृसंस्थाको सहयोगमा झापा गाउँपालिकाले घर बनाइदिने गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शाहले झापा गाउँपालिकाभित्र रहेका फुसको घरहरु हटाएर टिनको छाना लगाउने अभियान नै चलाएका छन् । शाहले अतिविपन्न परिवारका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत त्रिपक्षीय सहयोग रहने बताए । विपन्न परिवारहरुको घर निर्माणका लागि झापा गापाको १ लाख ५ हजार , ह्याविटास फर नेपालको ७५ हजार र सम्पूर्ण प्राविधिक पक्षको सहयोग सहारा नेपाल साकोसको रहने छ ।
सहारा नेपालका प्रोगाम मेनेजर मातृका सुवेदीले सुरक्षित आवास घर, निर्माण उपभोक्ता समितिमार्फत बन्ने बताए ।सुवेदीले घर निर्माण २०७९ सालको असार मसान्तभित्रमा उपभोक्ता समितिले सम्पन्न गरिसक्नु पर्ने बताए । सुरक्षित आवास कार्यक्रम उपभोक्ता समिति वडा नं २ वालुवाटारका सचिव विमला लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष शाह रहेका थिए । कार्यक्रममा प्रोगाम मेनेजर मातृका सुवेदी , नवनिर्वाचित वडा अध्यक्ष हिमालकुमार चम्लागाईलगायतले बोलेका थिए ।