झापा , जेठ १४ । सबै बिरामीहरुसँग नैतिक, सम्मानजक र दक्ष मेडिकल सेवाको अधिकार छ ।

प्रायः अवस्थामा अमेरिकाभरका अस्पतालहरुमा यो कडाइका साथ अपनाइन्छ । तर यति हुँदा हुँदै पनि हरेक वर्ष त्यहाँका २ देखि ४ लाख अस्पतालहमा बिरामीले कुनै न कुनै प्रकारको लापरबाही या गलत व्यवहारको सामना गर्छन् जसका कारण कतिको मृत्युसमेत हुने गरेको छ । यसरी अमेरिकामा मृत्युको प्रमुख कारणमा चिकित्सा त्रुटि पनि शीर्ष स्थानमै पर्दछ । मेडिकल क्षेत्रमा हुने लापरबाहीले बिरामीको स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्याउँछ । यसमा ससाना गलती र हेल्चेक्र्याइँले पनि तिनको जीवनै बदलिदिने असर परिरहेको हुन्छ । अमेरिकामा मात्र यस्ता सयौँ घटना भएका छन् जसमा कतिपय मुद्दामा अस्पतालले लाखौँ, करोडौँ डलरको क्षतिपूर्ति दिनुपरेको छ ।

हालैको यस्तो घटना हो मिनेसोटाको सेन्ट क्वाउड मेडिकल सेन्टरमा १९ वर्षीय नेपाली विद्यार्थी अनुज थापाले अस्पतालको लापरबाहीका कारण बायाँ खुट्टामा नराम्रो क्षति पुगेपछि सो मेडिकल संस्थाले उनलाई क्षतिपूर्ति स्वरुप ११ करोड डलर तिरेको छ । जनवरी २०१७ मा पहिलो वर्षका विद्यार्थी थापालाई एक फुटबल खेलका क्रममा खुट्टामा चोट लागेपछि एम्बुलेन्समा हालेर सेन्ट क्लाउड हस्पिटल लगिएको थियो । यसमा डाक्टरहरले उनको खुट्टा भाँचिएको ठहर गर्दै तत्कालीन डाक्टर च्याड होलियनले उनलाई शल्यक्रिया गर्न सुझाव दिए जसमा अनुजले सहमति जनाए । तर उक्त शल्यक्रियापछि पनि अनुजको दुखाइ कम भइरहेको थिएन । तापनि उनी शल्यक्रिया सकिएकै रात डिस्चार्ज भएर घर गए । अनि ६ दिनपछि पीडा झन् झन् बढ्न थालेकाले उनी फेरि अस्पताल पुगे । यसपटक चाहिँ उनलाई अर्कै अर्थो फिजिसियनले शल्यक्रिया गर्न लगे । यसमा उनले अनुजलाई ‘एक्युट कम्पार्टमेन्ट सिन्ड्रोम’ रहेको पत्ता लगाए जसमा उनको खुट्टाका मांसपेसीहरु खैरो भइसकेका थिए । त्यसबेलादेखि अनुजले २० वटाभन्दा बढी शल्यक्रिया गराए । अस्पतालविरुद्ध जारी गरिएको कानुनी मुद्दाकाअनुसार अस्पतालले सुरुवातमै अनुजको मेडिकल अवस्था पहिचान गर्न असफल भएकाले नै उनी यति ठूलो स्वास्थ्य समस्यामा परेका हुन् । यसले उनको खुट्टामा वास्तवमै कहिल्यै ठीक हुन नसक्ने नोक्सानी गरायो । यसपछि अन्ततः अस्पतालले उनको विगत र भविष्यको पीडा, मानसिक वेदना अनि मेडिकल खर्चको क्षतिपूर्ति स्वरुप १११ मिलियन अर्थात् ११ करोड डलर प्रदान गरेको हो । यो भनेको नेपालीमा १३ अर्ब ८१ करोड रुपैँया हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्