झापा , जेठ १५ । बाबुछोराको उमेर सरहका अग्निप्रसाद पाण्डे र मदन बुढाथोकी दुवैले बिर्तामोड नगरपालिकाको वडाध्यक्ष जितेका छन् ।

६१ औं बसन्त पार गरेका पाण्डे बिर्तामोड १ र ३८ वर्षका बुढाथोकी बिर्तामोड ३ का वडाध्यक्ष हुन् । दुवैको उमेरको अन्तर २३ वर्षको छ ।
बुढाथोकीभन्दा कम उमेरका र पाण्डेभन्दा बढी उमेरका जनप्रतिनिधिहरु पनि बिर्तामोड नगरपालिकामा निर्वाचित भएका छन् । बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई ३२ , ४ का वडाध्यक्ष राहुलकुमार शर्मा ३३ , ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल ३७ , ८ का वडाध्यक्ष अजय कार्की ३८ वर्षका छन् । जबकि बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ ६५ , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा ५९ , ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाई ५५ वर्षका छन् ।
६० वर्षभन्दा माथिकालाई बृद्ध भनिन्छ । बिर्तामोड नगरपालिकामा बृद्धसंगै सबैभन्दा कम उमेरकी बिर्तामोड ९ की दलित महिला सदस्य संगीता सिवा २६ वर्षकी छन् । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महताराको उमेर ५० र उपप्रमुख नगेन्द्र संग्रौलाको उमेर ५१ वर्षको रहेको छ ।
जिल्लामा हेर्ने हो भने सबैभन्दा कम उमेरका २२ वर्षिय बिशाल कार्की मेचीनगर १० को वडा सदस्यमा निर्वाचित भएका छन् भने सबैभन्दा बढी उमेरका भद्रपुर ३ का वडा सदस्य मुदिलाल गणेश रहेका छन् । जसको उमेर ७९ वर्षको छ ।
झापामा ९२ वर्षका उम्मेदवारले पनि स्थानीय तहको निर्वाचन लडेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले बताए ।२१ वर्ष माथिकाले निर्वाचन लड्न पाउने कानूनी प्रावधान छ । स्वतन्त्र निर्वाचन लडेर निर्वाचित भएका युवा जनप्रतिनिधिहरु वालेन साह , हर्क साम्पाङ जस्ताको यतिबेला माग भइरहेको छ । काम गर्न नसक्ने पाका जनप्रतिनिधिहरु अब विस्तारै बढारिदै जानेछन् । त्यसकारण राजनीतिको रहर गर्ने ती पाका जनप्रतिनिधिहरुले आफूलाई टिकाई राख्न युवाहरुसंग प्रतिष्पर्धा गर्नुपर्ने चुनौती देखिएको छ ।