झापा , जेठ १७ । लामो समयदेखि सौन्दर्य ब्यवसाय गर्दै आएकी उमा कटुवाल (भण्डारी) झापा जिल्लाकै उत्कृष्ट महिला उद्यमीको रुपमा पुरस्कृत भएकी छन् ।

नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश न १ को आयोजनामा प्रदेश राजधानी विराटनगरमा आयोजित उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा उद्यमी भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई नगद ५० हजार र प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश १ का २८ जना उद्यमीहरु सम्मानित भएका छन् । भण्डारीसहित झापाबाट २ जनाले सम्मान पाएका छन् । सोहि कार्यक्रममा भद्रपुरमा खाद्य उद्योग सञ्चालन गर्ने उद्यमी सर्मिला कार्की समेत सम्मानित भएकी छन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे,सचिव दीर्घराज मैनाली तथा महाशाखा प्रमुख दुर्गा भण्डारी बराललगायतको उपस्थितिमा सम्मान गरिएको कार्यक्रममा प्रदेश नं. १ का ठूला उद्यमीहरुको समेत सहभागिता रहेको थियो ।