झापा , जेठ २० । चन्द्रगढीस्थित पार्कमा स्वर्गीय राजा महेन्द्र शाहको शालिक पुनस्र्थापनाका लागि आयोजकहरु प्रक्रियामा जान सहमत भएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले भद्रपुर नगरपालिकाको अधिनमा रहेको सो पार्कमा बिना अनुमति अनाधिकृत रुपमा महेन्द्रको शालिक राख्न नदिने निर्णय गरेको थियो । तर, श्री ५ महेन्द्र वीर विक्रम शाहदेव सरकारको शालिक पुनर्निर्माण समितिले जेठ २१ गते जसरी भएपनि शालिक पुनस्र्थापना गराएरै छाड्ने अडान लिएपछि शुक्रबार साँझ पुनः जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।
सो बैठकमा भद्रपुर नगरपालिकाले त्यसलाई छलफलको विषय बनाउने र आयोजकहरुले पनि नगरपालिकामा निवेदन दिएर प्रक्रियामा जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । त्यस विषयमा राप्रपासहितका सबै दलहरुले सहमति जनाएको उनले जानकारी दिए । स्वतन्त्र राष्ट्रवादी युवा समूहका तर्फबाट भन्दै शुक्रबार पनि सो पार्कमा सरसफाई कार्यक्रम राखिएको थियो । त्यसलाई आफूहरुले रोकेको प्रजिअ रिजालले बताए । सहमति जनाइसकेकाले जेठ २१ गतेको कार्यक्रम पनि आयोजकहरुले नगर्ने विश्वास व्यक्त गरे ।
यसैबीच श्री ५ महेन्द्र वीर विक्रम शाहदेव सरकारको शालिक पुनर्निर्माण समितिले महेन्द्र बाटिकाको नाम परिवर्तन गरेर ’सहिद पार्क राखिएकोमा आपत्ति जनाउँदै विगत १६ वर्षदेखि कुनै स्थानीय सरकारले वास्ता नगर्दा जीर्ण बनेको, सरसफाई र रंगरोकन नपाएको महेन्द्र बाटिकालाई नयाँ जीवन दिएर, पूर्ववत अवस्थामा फर्काउन झापाली युवाहरु स्वतःस्फूर्त रूपमा लाग्दा भद्रपुर नगरपालिका र प्रशासनको धरपकडलाई सम्पदाको संरक्षण अभियानमा हस्तक्षेपको रूपमा बुझेको जनाएको छ । प्रजिअ रिजालको रोहवरमा भएको बैठकमा नगर प्रमुख गणेश पोखरेल , उपप्रमुख राधा कार्की, विभिन्न पार्टीका प्रतिनिधि , आयोजकका तर्फबाट सन्तोष बिमलीलगायतको सहभागिता रहेको थियो ।
सो पार्कमा महेन्द्रको शालिक पुनस्र्थापना गर्न सञ्जीव मैनालीको संयोजकत्वमा श्री ५ महेन्द्र वीर विक्रम शाहदेव सरकारको शालिक पुनर्निर्माण समिति बनाइएको छ । जसको सह–संयोजक चरण प्रसाई, सचिव सन्तोष बिमली ,सह–सचिव रञ्जन देवकोटा, कोषाध्यक्ष भिम भट्टराई तथा सदस्यमा लिप्सन बास्तोला, मेनुका श्रेष्ठ र मेनुका गेलाल रहेका छन् ।