झापा , जेठ २३ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय पनि बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्