झापा , जेठ २४ । वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी (सिम्युलेसन) संखुवासभामा गरिएको छ ।

सदरमुकाम खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा कृत्रिम पहिरो बनाई अभ्यास गरिएको हो । पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो । बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्तितथा प्रकोपले पुर्‍याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने कार्य र तयारीबारे प्रदर्शनी गरिएको हो । अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पहिरोबाट प्रभावितको उद्धारसम्बन्धी अभ्यास गरे । नयाँ भैरवी दल गुल्मका मेजर दिनेश चौलागाईँले बाढीपहिरो जस्ता विपत्ति आउँदा उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउने विधिबारेमा नमुना अभ्यास गरेको जानकारी दिए । उनले बाढीपहिरोमा कसरी र कुनकुन माध्यम उपयोग गरेर मानवीय सहयोग गर्न सकिन्छ भन्ने अभ्यास गराएको बताए । नमुना अभ्यासमा जिल्ला स्थित सरकारी कार्यालय , नेपाल रेडक्रस सोसाइटी , जिल्ला अस्पताल , जिल्ला स्वास्थ्य, खाँदबारी नगरपालिका र सामाजिक संघ संस्थाका प्रतिनिधि पनि सहभागी थिए । जिल्लामा पहिरोबाट गत वर्ष ११ जनाको ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्