झापा , जेठ २५ । भारतीय एक पत्रकार नक्कली अमेरिकी डलर बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् ।

जसमा पश्चिम बंगालस्थित कोलकाताका २४ वर्षीय फोटो पत्रकार दुर्लभ राय चौधरी छन् । कोलकाताबाट सिलिगुडी हुँदै काँकरभिट्टा नाका भएर नेपाल आएका चौधरीलाई चन्द्रगढी विमानस्थल प्रहरीले मंसिर २ गते पक्राउ गरेको थियो । चौधरीबाट एकसय डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद गरिएको झापा प्रहरी प्रमुख विश्वमणि पोखरेलले बताए । ‘प्रहरीले आफ्नो अनुसन्धान पूरा गरेर अदालतमा बुझाइसकेकाले यस विषयमा थप बोल्नु उपयुक्त हुँदैन’, जिल्ला प्रहरी प्रमुख पोखरेलले भने, ‘अब यो विषय हाम्रो क्षेत्राधिकारभित्र छैन । अदालतको आदेश नै अन्तिम प्रतीक्षाको विषय हो ।’ प्रहरीले २४ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो। झापा जिल्ला अदालतले चौधरीलाई मंसिर २६ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। चन्द्रगढी विमानस्थलबाट काठमाडौं जाने क्रममा चौधरी समातिएका थिए।

विमानस्थल प्रहरीलाई उनले आफू सर्ट मुभी सुटिङका लागि आएको र आफ्नो साथमा डलरको फोटोकपी रहेको आफैँले सुनाएका थिए । तर, प्रहरीले उनलाई उल्टै पक्राउ गरी खोटा मुद्रासम्बन्धी अभियोगमा मुद्दा चलाएको हो । स्रोतका अनुसार चौधरीको पक्षमा पर्याप्त लबिङ नहुँदा उनी कारागार चलान भएका हुन्। प्रहरीले गलत अनुसन्धान गरेर रायलाई फसाएको आरोप उनका आफन्तले लगाएका छन् । ‘मुभी सुटिङका लागि प्रयोग गरिने डलर बोक्दा नेपालको प्रहरीले तस्करीको आरोप लगायो,‘ रायका आफन्तले भने, ‘उनी निर्दोष छन्। प्रहरीले गलत उद्देश्यले अनुसन्धान गरयो। हामीलाई चाँडो न्याय चाहियो।’ अदालतमा दिएको बयानमा पनि उनले आफू सर्ट मूभी सुटिङका लागि नेपाल आएको बताएका छन्। ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युबमा राख्ने प्रयोजनका लागि आफूले नेपाल रोजेको उनको बयान छ । नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि आफू आएको पनि उनले बयानमा उल्लेख गरेका छन्। झापा जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले ‘यी प्रतिवादी कसुरदार रहेको भनी विश्वास गर्ने आधार विद्यमान रहेकोले’ भन्दै चौधरीलाई पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। अदालतको उक्त आदेशका आधारमा चौधरी हालसम्म पनि थुनामा छन्। आमा तृप्ती रोयलाई केही दिनअघि प्रहरीले चौधरीको साथबाट बरामद भएका क्यामेरा लगायतका सामान फिर्ता दिएको छ । यद्यपि, बरामद मुचुल्कामा ती सामानका विषयमा उल्लेख नभएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्