बिर्तामोड, जेठ २६ । झापामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल सम्पन्न भएको छ ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीले आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षबारे सुझाव राखेका थिए । सरोकारवाला निकायका अधिकारीहरुले अपाङ्गमैत्री संरचना निर्माण, निर्वाचन आचारसंहिता कार्यान्वयन र मतदाता शिक्षालगायतका विषयलाई अझ संवेदनशीलताका साथ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।
सहभागीले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा तथा अपांगतामैत्री संरचनाका विषयमा देखिएका कठिनाई र आगामी निर्वाचनमा गर्नुपर्ने सुधारबारे सुझाव राखेका थिए । उनीहरुले झापामा शान्तिपूर्ण र मर्यादित रुपमा निर्वाचन सम्पन्न भएको, समग्र पक्षमा विगतभन्दा सुधार भएको धारणा राखे ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले झापामा शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न भएको बताए । उनले सीमित साधन स्रोतकाबीच जिल्लामा विगतभन्दा व्यवस्थित र छरितो रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

झापामा आचारसंहिता उल्लंघनको लिखित उजुरी नपरेको बताउदै उनले आचारसंहितबारे मौखिक रुपमा प्राप्त गुनासालाई तत्काल सम्बोधन गरेको भनाई राखे । उनले अपांगता भएका, असक्त, वृद्धवृद्धालगायतलाई सहज रुपमा मतदान गर्ने प्रबन्ध गरिएपनि अपांगतामैत्री संरचना नहुँदा केही स्थानमा कठिनाई भोग्नु परेको बताए । उनले आगामी निर्वाचनका लागि स्थानीय सरकारहरुले अहिलेदेखि नै अपांगतामैत्री संरचना निर्माण थाल्नुपर्ने सुझाव राखे ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले झापामा निर्वाचन शान्तिपूर्ण र विवादरहित रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरे । उनले झापामा राजनीतिक संस्कार राम्रो रहेकाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए । साढे छ हजार सुरक्षाकर्मी र करिब ४ हजार निर्वाचन कर्मचारीको अथक मेहेनतमा निर्धारित समयमै मतदान तथा विगतभन्दा छिटो मत परिणाम सार्वजनिक गर्न सफल भएको बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जिल्लामा निर्वाचन सफल र विवादरहित सम्पन्न गर्न सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त भएको बताए । उनले विगतमा भन्दा यो पल्ट आचारसंहिता पालनाको अवस्थामा उल्लेख्य सुधार आएको बताए । उनले पालिका प्रमुख र उपप्रमुखमा मात्र बदर मतको संख्या धेरै भएको बताए । उनकाअनुसार पालिका प्रमुख–उपप्रमुखमा करिब २० प्रतिशत, अन्य पदहरुमा १० प्रतिशत र पूर्ण मतपत्र नै बदर २ प्रतिशत भएको जानकारी दिए । आगामी निर्वाचनमा यो अवस्थामा सुधार गर्न आवश्यक कार्य गर्ने उनले बताए । जिल्लामा ३६ वटा दल र १२ स्वतन्त्र व्यक्ति उम्मेदवार बनेका थिए ।

वरिष्ठ अधिवक्ता लीला उदासीले आचारसंहित कार्यान्वयनमा थप सुधारको आवश्यकता रहेको सुझाव दिए । आचारसंहिता पालनामा कडाई गरिएतापनि दलहरुले निर्वाचन प्रचारका क्रममा ध्वनी प्रदुषण गराएको उनको भनाइ छ । उनले मतपत्रका कारण मतदान गर्न तथा मतगणना कार्यमा ढिलाई भएको बताए । गणना कर्मचारीलाई प्रशिक्षणको कमी रहेको पनि उनको भनाइ थियो । जिल्लामा निर्वाचन पर्यवेक्षण गरेको नियोक झापाका अध्यक्ष डा.रुपक खनालले जिल्लामा निर्वाचन आचारसंहित कार्यान्वयनमा कडाई गर्दागर्दै पनि मतदाता प्रभावित पार्ने धेरै कार्य दलका उम्मेदवारबाट भएको बताए । मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेलले मौन अवधि तनावपूर्ण अवधिको रुपमा देखिएको, दलहरुको अनौपचारिक खर्च अनुगमनको मापदण्ड बन्नुपर्ने, साइबर चुनौति हल गर्न प्रविधिमैत्री निर्वाचन गर्नुपर्ने, दलहरुलाई अझ जवाफदेही बनाउनुपर्ने धारणा राखे ।

समीक्षा कार्यक्रममा सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक प्रदीपसिंह कार्की, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकरी गणेश पाण्डे, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा बाँस्तोला, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरत श्रेष्ठ, इन्सेक प्रतिनिधि नरेश खाती, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष राजु न्यौपाने, नियोक प्रतिनिधि मीरा भट्टराई, नेत्रहीन संघ झापाकी अध्यक्ष सिर्जना बराल, बिर्तामोड अपांगता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा, सचिव हरिप्रसाद अधिकारीलगायतले निर्वाचनका राम्रा पक्ष, कमजोरी र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे धारणासहित सुझाव राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्